Logo

एडीबीको टोलीद्वारा मेलम्ची अनुगमनः पानी पथान्तरण गर्ने तयारी



काठमाडौं, पुस १३ । मेलम्ची सुरुङमा पानी पथान्तरणका लागि गरिएको प्राविधिक अनुगमन सकिएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वारको जडान र फिनिसिङ गरिएपछि अनुगमन गरिएको थियो ।

आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूको अनुगमन गराएको हो । अनुगमनको सुझावअनुसार पानी पथान्तरणको काम अघि बढाइने भएको छ ।

एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर एक हप्तासम्म अनुगमन गराएको थियो । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने, “अनुगमनपछि प्रतिवेदन दिनेछन् । सोही प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न सक्ने वा नसक्ने हेरेर हामी अघि बढ्छौँ, पानी पथान्तरणको तयारीमा छौँ । ” उनका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गर्ने तयारी भएको छ तर एडीबीको अध्ययनको पूर्ण प्रतिवेदन पुस महिनाभित्र आउने मेलम्ची आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी

निर्देशक रिेतेशकुमार खत्री बताउन्छन, “एडीबीले गरेको अनुगमनको प्रारम्भिक प्रतिवेदन आएको छ । त्यसमा त्यस्तो सिरियस छैन तर पूर्ण प्रतिवेदन आउँदै छ । ” उनले अहिले सुधारका काम भइरहेको र जनवरीको पहिलो साता पूर्ण प्रतिवेदन आएपछि अघि बढ्ने जनाए।

गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ ।आयोजनाले अहिले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्