Logo

माधवको दायाँबायाँ सुरेन्द्र र गोकर्ण किन ?



काठमाडौं, १३ पौष । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आज नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ राजनीतिक टोलीसँग भेटवार्ता गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोलीसँग नेपालले एभरेष्ट होटलमा भेटवार्ता गरे ।

नेपालसँगै भेटमा नेकपा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट सहभागी थिए । पाण्डे नेकपा प्रचण्ड समूहको महासचिवका दाबेदार हुन् । बिष्ट पनि नेपालका विश्वासपात्र हुन् ।

नेकपा प्रचण्ड समूहको अध्यक्ष बनाइएका माधवकुमार नेपालले आफ्नो गुटमा भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टलाई बढी विश्वास गर्दै आएका छन् । यी तीन हस्तीको जनाधार पनि बलियो छ ।

पाण्डे र बिष्टलाई नेपालले चिनियाँ टोलीसँगको भेटमा सँगै राख्नुलाई अर्थपूर्ण मानिएको छ । उनले आफ्नो गुटबाट यी दुई नेतालाई अगाडि बढाउन चाहेको सन्देश प्रवाह भएको छ ।

सुरेन्द्र पाण्डे तत्कालिन नेकपा एमालेको अन्तिम महाधिवेशनमा माधव नेपाल गुटको महासचिव उम्मेदवार थिए । उनी झीनो मतान्तरले चुनाव हारेका थिए ।

गोकर्ण बिष्ट ओली सरकारमा माधव नेपालले चयन गरी श्रममन्त्रीका रुपमा सरकारमा पठाएका थिए । ओलीको नेपालसँग सम्बन्ध बिग्रदा उनी पनि हटाइएका थिए । बिष्ट माधव नेपालको विश्वासपात्र भएकै कारणले विगतमा पनि ओलीबाट बढी पेलाइमा पर्दै आएका थिए । उनले नेपाललाई निरन्तर साथ दिदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्