Logo

नेकपा एक बनाउन बामदेव सक्रिय



काठमाडौं, १३ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित हुँदा सचिवालय देखि स्थायी कमिटीमा रहेका बामदेव गौतमबाहेक सबै प्रभावशाली नेताहरुले कित्ताकाट गरेका छन् । प्रमुख नेताहरु एक अर्काविरुद्ध आरोप प्रत्यारोपमै उत्रिएका छन् । तर, प्रतिनिधिसभा बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको ढिलोगरी विरोध गरेका गौतम भने मोनप्रायः छन् ।

गौतम कुनैपनि समूहमा नलाग्ने अडान कसेर बसेका छन् । उनी दुवै पक्षलाई अझै मिलाउने प्रयासमा रहेका छन् । बामदेवले सचिवालय मार्फत् आफू कुनै गुटमा नलाग्ने र कुनै गुट विशेषको भेलामा पनि सहभागी नहुने स्पष्ट पारेका छन् । अन्तिम समयसम्म पार्टी एक बनाउन लागिरहने उनको भनाई छ ।

विश्वस्त स्रोतका अनुसार वामदेव केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग नियमित सम्पर्कमा रहेर पार्टीलाई एक बनाइराख्न लागिपरेका छन् । उनले त्यसका लागि सहमतिको सूत्र पनि तयार पारेको बुझिएको छ ।

नेकपा एक बनाइराख्न प्रतिनिधिसभा पुनःस्थापना अनिवार्य शर्तका रुपमा प्रचण्ड र माधव नेपालले जवाफ दिएका छन् । तर, यो विषय अदालतमा पुगिसकेको छ । तर, प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानेगरी मध्यावधि चुनावकै पक्षमा अडान लिएका छन् । ओलीका केही विश्वासपात्रहरु भने ओलीलाई पूरा कार्यकाल सरकार सञ्चालन गर्न दिने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पदमा हटाउने कुनै गतिविधि नगर्ने लिखित सहमति गरेर जानेबारे कुराकानी बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्