Logo

सिगासका बासिन्दा बैंकिङ सेवा लिन सदरमुकाम धाउन बाध्य



बैतडी, पुस १४ । बैतडीको विकट मानिने सिगास गाउँपालिकाका बासिन्दा बैंकिङ सेवाका लागि अझै पनि सदरमुकाम धाउन बाध्य छन् । प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकहरूले सेवा दिने सरकारले निर्णय गरेपछि शाखा स्थापना भइरहे पनि सिगासमा भने अझै बैंकिङ सेवा पुग्न सकेको छैन ।

गाउँपालिकाबाट सञ्चालन हुने विकास निर्माणका योजनाका उपभोक्ता समितिले पनि बैंकिङ कारोबारका लागि जिल्ला सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंक नै जानुपर्ने बाध्यता छ । सिगासका गाउँबाट जिल्ला सदरमुकाम पुग्न दुई दिन लाग्छ । यस्तै गाडी भाडा नै १५ सय लाग्ने गरेको स्थानीय बताउँछन् ।

सिगास गाउँपालिकामा दुई वर्ष पहिले कृषि विकास बैंकले शाखा खोले पनि कारोबार हुन सकेको छैन । कृषि विकास बैंकको शाखामा कारोबारका लागि प्रबन्धकसँग कुरा गरेको, शाखाले कारोबार गर्न नसक्ने बताएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताए ।

सिगास गाउँपालिकाका दुई वडाबाहेक अरू सबै वडामा सडक पुगे पनि बैंकिङ सेवा नपुग्दा स्थानीयले खर्चसँगै दुःख खेप्नुपरेको छ । शाखा स्थापनाका लागि प्रभु बैंकले जिम्मा पाएकोमा बिजुली र सुरक्षाको समस्या देखाउँदै अहिलेसम्म स्थापना नगरेको गाउँपालिकाले बताएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्