Logo

बङ्गलादेशबाट मल ल्याउने तयारी अन्तिम चरणमा



काठमाडौं, पुस १४। बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशस्थित नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिनुभयो ।

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो । “विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै रु १० करोड नेपाली रुपैयाँ बचत हुन्छ”, उहाँले भन्नुभयो ।

युरिया मलको ढुवानी हुनु दुईदेशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।

हुन त बङ्गलादेशमा हरेक वर्ष २५ लाख मेट्रिकटन मल खपत हुन्छ । यहाँ १० लाख मेट्रिक टन आफैँले उत्पादन गरे पनि १५ लाख मेट्रिकटन आयात हुँदै आएको छ । त्यसैले बङ्गलादेशले मल बिक्री गर्ने भन्ने कुरा हुँदैन । नेपाललाई ५० हजार मेट्रिकटन मल चाँहिने कुरा बङ्गलादेशका लागि सानो परिमाण हो । त्यसैले नेपालले गरेको कूटनीतिक पहललाई बङ्गलादेशले सहर्ष स्वीकार गरेको गरेको हो ।



प्रतिक्रिया दिनुहोस्