Logo

‘असंवैधानिक कदम सच्याइए पार्टी एकता कायम राख्न सकिन्छ’



काठमाडौं,पुस १५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ । आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंसहित देशैभर विशाल प्रदर्शन भएको बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको सो कदमलाई नेकपा दाहाल–नेपाल समूहले असंवैधानिक भन्दै विरोध गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आइरहेका छन् ।

काठमाडौंसहित देशैभर एकै दिन प्रदर्शन गरेको नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीले फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएको छ । एकले अर्को पक्षलाई कारबाही गर्दै आफू नै आधिकारिक रहेको दाबी गरिएको छ ।

दुवै समूहका नेताहरूले एक अर्काका विरुद्धमा गम्भीर आरोप लगाउँदै आलोचना एवं विरोध गरिरहेका छन् । मंगलबार दाहाल–नेपाल समूहको नेकपाले आयोजना गरेको प्रदर्शनपश्चात् आयोजित सभामा प्रधानमन्त्री ओलीको चर्को रूपमा आलोचना भएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनलाई थप सशक्त बनाउँदै जाने स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्