Logo

कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण



काठमाडौं, पुस १५ ।कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याएका छन ।

भौतिक कक्षा नचलाएसम्म समस्या
रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको संस्कृत छात्राबासमा बस्ने ३५ जना विद्यार्थी नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेदेखि नै सम्पर्कविहीन अवस्थामा छन् । विद्यालयमा माथिल्लो तहमा अनलाइन कक्षा सञ्चालन गरिए पनि तल्लो तहको कक्षामा उपस्थिति अत्यन्तै न्यून छ ।

विद्यालयका प्रधानाध्यापक शिव अधिकारीले विद्यार्थीसित सम्पर्क स्थापित गर्न धेरै प्रयास गरिएको तर त्यसमा निकै कठिनाइ भएको बताए । भौतिक रूपमा कक्षा सञ्चालन नगरिएसम्म छात्राबास र नियमित कक्षामा पढ्ने विद्यार्थी आउन कठिनाइ देखिएको उनको भनाई छ ।

भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसकिएको र अनलाइनमा विद्यार्थीको सहभागिता न्यून रहेको उनको भनाइ छ । विद्यार्थीको अनलाइनमा सहभागिताका लागि सहज होस् भनेर बिहान–बेलुकासमेत कक्षा राखिएको भए पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

विद्यार्थी खोजी जारी
काठमाडौँैँस्थित कोटेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवर कोरोनाका कारण विद्यार्थीको पठनपाठन लामो समयसम्म हुन नसके पनि कक्षा छोड्ने दर बढ्न नदिने र पुराना विद्यार्थीको खोजी कार्य जारी राखिएको बताउन्छन ।

भौतिक कक्षा सञ्चालन नभएसम्म विद्यार्थीको प्रभावकारी उपस्थिति हुन समस्या देखिएको उनको भनाई छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये हाल २५ प्रतिशतको हाराहारीका विद्यार्थीले विद्यालयको सम्पर्क बाहिर रहेको जानकारी उनले जनाए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्