Logo

तुइन विस्थापित गर्दै झोलुङ्गे पुल



काठमाडौं, पुस १५ । पाँच वर्षअघि २०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेपछि अहिलेसम्म मुलुकभरबाट १२८ वटा तुइन विस्थापन भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक २०७२ सालमा प्रधानमन्त्रीको पद बहाली गर्दा मुलुकभरका तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने निर्णय गरेका थिए। मुलुकका विभिन्न ठाउँमा रहेका नदी, खोलामाथि वारपार गर्न अन्य सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका सार्वजनिक तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने कार्यक्रम सञ्चालन भएको थियो । त्यसबेला सरकारले विस्थापन गर्नका लागि मुलुकभर १४३ वटा तुइन पहिचान गरेको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख कुमार थापाले जानकारी दिए। उनले भने, “अब देशको कुनै पनि स्थानमा तुइन छैन, तुइनबाट जोखिम मोलेर नदी, खोला तर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

विभागका अनुसार तुइन प्रतिस्थापन गर्ने कार्यक्रमअन्तर्गत हालसम्म गण्डकी र कर्णालीमा २८–२८, सुदूरपश्चिममा २७, बागमतीमा २२, लुम्बिनीमा १८ र प्रदेश १ मा पाँचवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । तुइन विस्थापन गरी १२० मिटरदेखि ३५० मिटरसम्मका झोलुङ्गे पुल निर्माण भएका छन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्