Logo

‘घरमा शव आयो तर उखुको पैसा आएन’



लहान, पुस १५ । विभिन्न बैंकको गरी करिब १८ लाख ऋणको भारी । जमीन निलाम गरिदिने बैंकहरूको चेतावनी । चिनी मिलसँग करिब साढे २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । भुक्तानीका लागि काठमाडौंको माइतीघरमा सरकार पुकार्दै गरेका सर्लाही धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवको मंगलबार बिहान निधन भएको छ ।

माइतीघरमा धर्ना आन्दोलन सकेर जोरपाटीको कृष्ण मन्दिरमा बस्दै आएका यादव मंगलबार बिहान ६ बजे अचानक ढले । त्यहाँबाट उनलाई नजिकैको अस्पताल पुर्‍याइयो । यहाँ उपचार सम्भव नहुने भन्दै गंगालाल अस्पताल लगिएको थियो । गंगालाल अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे निधन भएको उखु किसान संघर्ष समितिका गोपाल यादवले बताए । यादवका अनुसार सुरुमा चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।

यादवले अन्नपूर्ण सुगर मिल धनकौलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । उखु बेचेको भुक्तानी माग गर्दै उनी मंसिर ३० गत्ते काठमाडौं आएका थिए । आन्दोलन २८ गतेबाट सुरु भएको थियो । सधैं आन्दोलनमा सक्रिय सहभागिता जनाउने उहाँ कृष्णभक्त हुनुहुन्थ्यो,’ आन्दोलनका संरक्षक सदस्य चन्द्रमोहन चौधरीले भने, ‘बैंकको ऋणले परेसान उनी मिलबाट रुपैयाँ नपाउँदा चिन्तित थिए । बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो । यता, मिलबाट पाउनुपर्ने रुपैयाँको टुंगो थिएन ।’

यसपटक पनि सरकारले पहिला जस्तै कागजमा सम्झौता मात्र गरे तर उनले रुपैयाँ पाएनन् । पहिला जस्तै सम्झौता कागजमै सीमित पो हुने हो कि भन्ने तनाब पनि उनको मृत्युको एउटा कारण हुनसक्छ चौधरीले भने, ‘हुन त यसपटक सरकारले २१ दिन भित्र किसानको खातामा मिल मालिकबाट रुपैयाँ भराउने लिखित बाचा गरेको छ ।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्