Logo

उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर



विराटनगर, पुस १६ । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीपले श्रम कार्यालय विराटनगरको आदेश अस्वीकार गरेको छ । उद्योग प्रशासनले आदेशविरुद्ध श्रम अदालत जाने जानकारी गराएको छ । कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको उक्त उद्योगले विना जानकारी शुक्रवारदेखि १८४ मजदूरलाई कामबाट निष्कासन गरेको आरोप श्रमिक संघको छ ।

पुनर्बहालीको माग गर्दै श्रम कार्यालय पुगेका मजदूरको उजुरीको आधारमा श्रम कार्यालय विराटनगरले निष्कासित मजदूरलाई १४ गते मंगलवार बेलुका ४ बजेसम्म पुनर्बहाली गर्न उद्योग प्रशासनलाई आदेश दिएको थियो । तर उद्योगका प्रशासन प्रमुख दिवस नेपालले श्रम कार्यालयलाई जवाफी पत्र लेख्दै आपूmहरू श्रम कार्यालयको आदेशविरुद्ध श्रम अदालत जाने जानकारी गराएका छन् ।

पुनर्बहालीको आशामा बसेका मजदूर भने आन्दोलनको तयारीमा छन् । नेपाल कारखाना श्रमिक संघ, आरती स्ट्रीप इकाइ समितिका अध्यक्ष सुरेशकुमार साहले बुधवार सम्पूर्ण मजदूरलाई आन्दोलनको तयारीका लागि जानकारी गराइएको बताए । उनीहरूले बुधवारदेखि नै कार्यालयको गेटमा धर्ना दिने कार्यक्रम शुरू गरेको जानकारी दिए । बुधवार उधौली पर्वको बिदाका कारण श्रम कार्यालय बन्द रहेकाले बिहीवार श्रम कार्यालय गएर आदेश कार्यान्वयन नभएको जानकारी दिने उनको भनाइ छ । त्यसपछि सम्पूर्ण स्थानीय निकाय, प्रशासन र प्रहरीलाई समेत जानकारी दिएर आन्दोलनको कार्यक्रम घोषणा गरिने उनले बताए ।

मजदूरको उजुरीपछि वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आरती स्ट्रीपलाई पत्र लेख्दै पुस १४ गते मंगलवार बेलुका ४ बजेभित्र सम्पूर्ण मजदूरलाई पुनर्बहाली गरी पुस १५ गतेभित्र श्रम कार्यालयलाई लिखित जानकारी दिन आदेश दिएका थिए ।

नेपाल कारखाना श्रमिक संघको इकाइ नवीकरणका लागि सदस्यहरूको विवरण सहित श्रम कार्यालयमा पेश भएको रेकर्डका आधारमा श्रमिकको विवरण ठिक हो÷होइन लिखित जानकारी गराउनू भन्ने श्रम कार्यालयले आरती स्ट्रीप प्रशासनलाई पठाएको पत्रको जवाफ दिनुअघि नै उद्योगबाट श्रमिकलाई निष्कासन गरिएको थियो ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्