Logo

नेकपा मिलाउन चीन यसरी भयो असफल



काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टीलाई मिलाउन चाडर्ट विमानमै नेपाल आएको छ सदस्यीय चिनियाँ टोली निराश भई फर्किएको छ । चिनियाँ कम्युनिस्टपार्टीको विदेश विभागका उपमन्त्री गुओ येचाऊ टोलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष सन्देश बोकेर कुनै हालतमा नेकपा मिलाउने टास्क बोकेर आएपनि सफल नभएपछि निराश भई फर्किएको हो ।

चिनियाँ टोलीले निकै प्रयास गर्दा नेकपाको दुवै पक्ष सफल हुन नसक्नुमा दुवै अडानबाट पछि नहटनु मुख्य कारण हो । टोलीले नेताहरुको घर, होटल देखि दूतावासमा प्रतिनिधि डाकेर छलफल गरेको थियो । तर, प्रधानमन्त्री ओली संसद पुर्नस्थापना गर्न नमान्ने र प्रचण्ड कुनै हालतमा संसद पुर्नस्थापनाको अडानबाट पछि हटेनन् । अडान नछाडेपछि नेकपा पुनः एक बनाउने चिनियाँ प्रयास असफल भयो ।

विगतमा नेकपा एक हुँदा चीनले भूमिका खेलेको खुल्दै गएको छ । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेकपाका नेताहरुलाई प्रशिक्षण दिनेसम्म गरियो । नेकपाको यसअघिको दुईपटकको सम्भावित फुटलाई टार्न चीनले नै भूमिका खेलेको थियो । राजदूत होउ यान्छी नेकपाका शिर्ष नेताहरुलाई घर घरमा भेटेर यसमा सफल भएकी थिइन् ।

यसपटक भने यान्छीको पनि केही नलागेपछि बेइजिङबाट चीनको टोली चाटर्ड विमानबाट आएको थियो । टोलीले नेकपाका शिर्ष नेता देखि उनीहरुका विश्वासपात्र नेताहरुलाई पनि भेटेको थियो । तर, सहमतिको बिन्दु तयार गर्ने प्रयासमा विफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ टोलीले महत्वपूर्ण भेटवार्ता गरेको थियो । त्यसपछि उनीहरुले छानेका विश्वासपात्रहरु राजन भट्टराई र जर्नादन शर्मासँग दूतावासमा पटक पटक छलफल गरेको थियो । ओली संसद पुर्नस्थापनाको विपक्षमा र प्रचण्ड त्यही अडानमा टसमस नभएपछि कुरा मिल्न सकेन । दुवैको अडानबाट पछि हट्न लगाएर बीचको बाटोमा समेत सहमति बनाउन खोजिएको थियो ।

संसद पुनःस्थापनाको अवस्था बनाएर ओलीलाई पाँच वर्ष पूरा कार्यकाल सरकार चलाउन दिने या मध्यावधि चुनावमा मिलेर जाने अवस्थामा समेत विकल्प खोज्ने प्रयास सबै विफल भएको विश्वस्त स्रोतले बताएको छ । कुरा नमिलेपछि नेकपाको दुवै समूहका नेताहरु एक अर्काविरुद्ध खनिन थालेका छन् । उनीहरुले एक अर्कालाई आक्रामक रुपमा प्रस्तुत गरेका छन् । प्रचण्डले ओलीलाई तानाशाह भनेका छन् । चुनौतीका साथ सकेको गरेर देखाउन भनेका छन् ।

नेकपाका अन्य नेताहरुले ओलीलाई इतिहासमै कलंकित भने । प्रचण्डले त ओलीलाई नेपाली राजनीतिमा पत्तासाफ हुने ठोकुवा गरे । यसले पनि नेकपा एक नहुने अवस्थामा पुगेको सन्देश प्रवाह भएको छ । चिनियाँ टोली राजनीतिक तहमा भेटघाटमा सक्रिय भएपछि कुनै सुखद परिणाम नआउने लक्षण प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको आजको अभिव्यक्तिले देखाएको छ । प्रचण्डले कम्युनिस्ट पार्टी फुटेको समेत बताए ।

नेकपा मिलाउन आएको चिनियाँ टोलीप्रति ओली समूहले आक्रोश पोख्न थालेको छ । नेकपाको ओली समूहमा रहेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टी फुटिसकेको भन्दै चीनले मिलाउन नसक्ने बताएका छन् । उनले वीरगञ्जमा मङ्गलबार बोल्दै चीनको प्रयासले पार्टी विभाजन नरोकिने बताएका हुन् । उनले भने,‘चीनले जति नै प्रयास गरेपनि पार्टी एक हुनसक्दैन, नेकपा फुटिसक्यो ।’ उनले चीनले नेकपाको हितका लागि नभई स्वार्थका लागि भूमिका देखाइरहेको आरोप लगाए ।

चिनियाँ टोली नेकपा नेताहरुको निवासमै र होटलमा भेटेर फुटलाई पुनः जोड्ने प्रयास गरिरहँदा मण्डलको भनाई बाहिर आएको हो । ओलीका नजिकका नेता मण्डलको अभिव्यक्तिले पनि ओलीमाथि दबाब बढाइएको थियो । तर, ओलीले प्रचण्ड समूहबाट एकताको सम्भावनाका लागि आएको प्रस्तावलाई अस्वीकार गरिसकेको विश्वस्त स्रोतले बताएको छ । ओलीलाई सच्चिन र संसद पुनःस्थापनाको वातावरण बनाएमा एकता हुनसक्ने प्रचण्ड समूहले चिनियाँ पक्षमार्फत् प्रस्ताव पठाएको थियो । त्यही सेरोफेरोमा जर्नादन शर्माले पनि कुरा गरेका थिए । तर, ओलीले पछि फर्कन नसकिने बरु मिलेर मध्यावधि चुनावमा जानुपर्ने अडान राखेका थिए । तर, प्रचण्ड त्यसमा सहमत भएनन् ।

चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि टोलीले भेट गरेको थियो । नेकपाभित्रको दुवै समूहको प्रभावशाली नेताहरुसँग भेटेको चिनियाँ टोलीले निकै गृहकार्य गरेपनि नेकपा एक हुन सकेन । चनियाँ गतिविधि यस घटनाले धेरै उजागर गरेको छ । चार दिन नेपाल बसेर गरेको दौडधूपबाट पनि नेकपा एक नहुन देखेपछि उसले नयाँ रणनीतिको तयारी गरेको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्