Logo

किरात विद्यार्थी समन्वय समितिद्धारा १२औँ राष्ट्रिय जनगणना–२०७८ मा उत्साहपूर्वक सहभागी हुन अपिल



काठमाडौं, १६ पुस । किरात विद्यार्थी समन्वय समिति, काठमाडौं, किरात राई विद्यार्थी संघ, लिम्बुवान विद्यार्थी मञ्च, सुनुवार विद्यार्थी समाज र किरात याक्खा बिद्यार्थी संघले आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुन गइरहेको १२औँ राष्ट्रिय जनगणना–२०७८ मा उत्साहपूर्वक सहभागी हुन आफ्नो समूदायलाई संयुक्त रूपमा अपिल गरेको छ ।

 

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो अपिल गरेका हुन् । उनीहरुको अपिलमा भनिएको छ,‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–साँस्कृतिक विशेषतालाई आत्मसात गर्दै समावेशी र समतामूलक समाजको निर्माणार्थ संकल्पित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालका हामी किरात, सुनुवार, राई, लिम्बु, याक्खालगायतले विगतमा सम्पन्न राष्ट्रिय जनगणनामा सहभागिता जनाइ आफ्नो जनगणना गराउँदै आइएको जानकारी सबैमा सर्वविदितै छ । यसै सन्दर्भमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी वि.सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्ममा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा हामी सबैले हाम्रो वास्तविक मौलिक पहिचानसहितको तथ्यांक टिपाएर राष्ट्र, समाजलाई सहयोग गर्नु पर्ने जिम्मेवारी आएको छ ।’

 कार्यक्रममा बोल्दै किरात बिद्यार्थी समन्वय समिती काठमाडौँ संयोजक तथा किरात राई बिद्यार्थी संघ अध्यक्ष रामचन्द्र राईले चारवटा बिद्यार्थी संगठन मिलेर किरात बिद्यार्थी समन्वय समिती बनाएर आफूहरुले कार्यगत एकता गरेको सनुाए । उनले भने,‘हाम्रो अस्तित्व जोगाउन र हाम्रो पहिचानको लागि सरकारसँग संघर्ष गरिरहेका छौं । जनगणना बिभागसँग सही तथ्यांक लेखाउन र टिपाउनको लागि हामी त्यहाँ उपस्थिति हुनेछौं । तथ्यांक मिथ्यांकमा परिणत नहोस् ।नेपाल सरकार र स्थानिय सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्यालले १२आँै राष्ट्रिय जनगणनामा सहभागी हुन सबैमा हार्दिक अपिल गरेका छन् । उनले भनेका छन्,‘आदिबासी जनजातिको महत्व भनेको जातजाती, भाषा र धर्मको महल हो । नेपाल सरकार र स्थानिय सरकारलाई ध्यानाकर्षण गराउन र झकझकाउन जरुरी छ। स्थानिय सरकार, संघीय सरकार, प्रदेश सरकार र तथ्यांक बिभागले सही गणना गरोस् । तथ्यांकमा हाम्रो अनुहार देखिएको छैन। झेली प्रक्रियाबाट सरकारले हामीलाई छलेको छ।’

त्यस्तै, सुनुवार बिद्यार्थी समाजका अध्यक्ष सागर सुनुवारले आफूहरुको गणनालाई राज्यले वास्तविक रुपमा नगरेको गुनासो पोखे । ‘राज्यले कुनै पनि नीति नियम बनाउँदा जनगणनाको आधारमा गरिरहेको छ, जनगणनामा सही तथ्यांक संकलन हुन अनिवार्य छ।’–उनले भने ।

उक्त कार्यक्रममा किरात बिद्यार्थी समन्वय समिती काठमाडौँ संयोजक तथा किरात राई विद्यार्थी संघ अध्यक्ष रामचन्द्र राई, किरात राई विद्यार्थी संघ सचिव अशोक राई, सुनुवार विद्यार्थी समाजका अध्यक्ष सागर सुनुवार, किरात याक्खा विद्यार्थी संघका अध्यक्ष भरत याक्खा, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष दिपा लक्सम, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्याल लगायतको उपस्थिति रहेको थियो।

हेरौं समितिको संयुक्त अपिल
किरात विद्यार्थी समन्वय समिति
काठमाडौं
संयुक्त अपील

आदरणीय दाजुभाइ, दिदीबहिनी तथा पत्रकार बन्धुहरू
सेउ, सेवा, सेवारो, सेवायो, नमस्कार !

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतालाई आत्मसात गर्दै समावेशी र समतामूलक समाजको निर्माणार्थ संकल्पित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालका हामी किरात; सुनुवार, राई, लिम्बु, याक्खा लगायतले विगतमा सम्पन्न राष्ट्रिय जनगणनामा सहभागिता जनाइ आफ्नो जनगणना गराउँदै आइएको जानकारी सबैमा सर्वविदितै छ । यसै सन्दर्भमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी वि.सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्ममा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा हामी सबैले हाम्रो वास्तविक मौलिक पहिचानसहितको तथ्यांक टिपाएर राष्ट्र, समाजलाई सहयोग गर्नु पर्ने जिम्मेवारी आएको छ । तथापि, इतिहासको कालखण्डमा देखिएको साँस्कृतिक विचलनका कारण वास्तविक तथ्यांक संंकलनमा चुनौती सिर्जना भएको छ । जसका लागि संस्कृतिविद, इतिहासविदहरूका भनाइ, सामाजिक अभियान्ता, सरोकारवालाहरूद्धारा उठाइएका सवाल, समुदायको निरन्तरताजस्ता तथ्यहरूका आधारमा हामी यस निर्णयमा पुगेको यहाँहरूलाई जानकारी गराउन चाहन्छौं । तसर्थ आगामी जनगणनामा किरात समुदायका जातिहरूले तालिकाबमोजिम तथ्यांक टिपाएर राष्ट्रिय जनगणनामा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।

क्र.सं. जात÷जाति के हो ? भन्ने महलमा पुर्खाको भाषा कुन हो ? भन्ने महलमा मातृभाषा कुन हो ? भन्ने महलमा दोस्रो भाषा के हो ? भन्ने महलमा कुन धर्म मान्नु हुन्छ ? भन्ने महलमाा
१ सुनुवार सुनुवार सुनुवार नजिकको आदिवासी जनजातिको मातृभाषा

किरात
२ राई थरगत भाषाहरू थरगत भाषाहरू
३ लिम्बु लिम्बु लिम्बु
४ याक्खा याक्खा याक्खा

राईको थरगत भाषाहरूः वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ÷बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयू÷कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तवा, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलिङ÷छुलुङ, फाङदुवाली, मुगा÷मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम÷लिङ्खिम, देवासमध्ये कुनै एक ।

नेपाल सरकारले प्रत्येक दश÷दश वर्षको अन्तरालमा राष्ट्रिय जनगणना गर्ने गर्दछ । जनगणनाबाट प्राप्त तथ्यांकलाई मध्येनजर गरेर सरकारले आफ्नो नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्ने गर्दछ । जुन तर्जुमाले नागरिकको हकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्दछ । यसकारण जनगणनामा सही तथ्यांक संकलन हुनु अनिवार्य छ । यो अवसरलाई सबैले सचेत भएर भरपुर सदुपयोग गरौं । जय किरात !

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्