Logo

निर्माण सामग्रीको मूल्यवृद्धिले आवास निर्माण प्रभावित



काठमाडौं, पुस १७। कोरोना महामारी र बन्दाबन्दीमा निजी घर तथा आवासीय भवन निर्माणमा देखिएको शिथिलतालाई पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धिले पुनः प्रभावित पार्ने देखिएको छ ।

फलामे छड तथा ग्रिलजन्य सामग्रीदेखि सिमेन्ट, इँटाको मूल्यका साथै बालुवा र गिटीमा समेत मूल्यवृद्धि हुँदा निजी घर र आवासीय भवन निर्माण प्रभावित हुने व्यवसायीहरू बताउँछन् । घर तथा आवासीय भवनमा अधिक प्रयोग हुने ग्रिलजन्य सामग्रीको मूल्य बढ्दा भवन बनाउनेहरू पर्ख र हेरको अवस्थामा रहेको एक व्यवसायीले बताए । नेपालमा फलाम तथा फलामजन्य वस्तुका कच्चा पदार्थ बाहिरबाट आयात गरिन्छ ।

फलामे छड र ग्रिलजन्य वस्तु पनि भारत तथा अन्य देशबाट आयात गरिएको बिलेटबाटै बनाइने भएकाले यस्ता सामग्रीको मूल्य बढेको छ । मंसिर पहिलो सातादेखि फलामे छड, गिटी, बालुवाको मूल्य बढे पनि अहिले सिमेन्ट र इँटाको मूल्य बढेको छ । छडको मूल्य प्रतिकेजी रु। २५ देखि ३० सम्म बढेको छ । यसअघि यसको मूल्य ६५ देखि ७० रुपैयाँ थियो ।

यस्तै, सिमेन्टमा पनि प्रतिबोरा १५ देखि २० रुपैयाँसम्म मूल्य बढेको सम्बद्ध व्यवसायी बताउँछन् । काठमाडौंमा २२ हजारमा झारिने गिटीको मूल्य मंसिर पहिलो सातादेखि ३० हजार रुपैयाँसम्म पुगेको छ ।

निर्माण सामग्रीको मूल्य बढेपछि निजी तथा सामूहिक आवास निर्माण पनि महँगो हुने देखिएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले अहिले रोलिङ मिल्सहरूबाटै महँगोमा सामग्री खरिद गर्नु परेकाले ग्रिलजन्य सामग्रीको मूल्य बढेको बताए । यसले गर्दा निजी आवासीय भवनका साथै पुर्वाधार निर्माण महँगो हुन थालेको उनको बुझाइ छ ।

पहिला यस्ता सामग्रीको मूल्य प्रतिकेजी ७५ रुपैयाँसम्म पर्ने भए पनि हाल प्रतिकेजी १ सय १० देखि १ सय १५ रुपैयाँसम्म पुगेको कटुवालले बताए । नेपाल इँटा उद्योग महासंघ अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटाको मूल्यमा भने सामान्य वृद्धि भएको बताउँछन् । उनले इँटाको प्रकार हेरी औसतमा १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको जानकारी दिए ।

अहिले सामान्य इँटा काठमाडौंमा प्रतिगोटा १७ रुपैयाँसम्म र विशेष खालको इँटा प्रतिगोटा २५ रुपैयाँसम्म बढेको उनले जानकारी दिए । ‘आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्