Logo

निर्यातमूलक उद्योगको आयकरमा छूटको माग



विराटनगर, पुस १७ । निर्यातमूलक उद्योगको आयकरमा छूट हुनुपर्ने र एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बाट हुने आयात निर्यातमा पूर्वाधारको अभावमा भइरहेको विलम्ब तत्काल हटाइनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् । बुधवार विराटनगरमा आयोजित ‘निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण’ अन्तरक्रियामा यस क्षेत्रका उद्योगीहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निर्यातमूलक उद्योगलाई आयकरमा विशेष छूट र न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनुपर्ने माग गरे । ‘ड्युटी ड्र ब्याक’ सुविधा सम्बन्धित भन्सार कार्यालयबाटै उपलब्ध गराउनुपर्ने, भ्यालू एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनुपर्ने, अन्तरराष्ट्रस्तरको गुणस्तर मापदण्ड र मान्यताप्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गरिनुपर्ने र निर्यात प्रवद्र्धन तथा विकासका लागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।

सुनसरीको अमडुवामा अवस्थित ६३२ बिगाहा जग्गालाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न र यस क्षेत्रलाई क्रश बोर्डर इकोनोमिक जोनमा परिणत गरी कामको गति बढाउन समेत उनले सम्बद्ध निकायलाई सुझाव दिए । यस्तै आईसीपी विराटनगरमा गुणस्तर तथा विषादी परीक्षण प्रयोगशाला, चिस्यान केन्द्रको स्थापना, मालवस्तु स्क्यानर एवं एक्सरे मेशिनमार्फत जा“चपासको व्यवस्था आदि पूर्वाधार विकास गरी भन्सार गतिविधिलाई वैज्ञानिक बनाउनुपर्ने खाँचो उनले औंल्याए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रालयका व्यापार सहजीकरण सल्लाहकार हिमाल थापाले मुलुकको वैदेशिक व्यापार, निर्यात भइरहेका वस्तुको अवस्था, निर्यात प्रवद्र्धनका लागि मन्त्रालयका कदम, नेपालका पारवहन व्यवस्था र व्यापार सहजीकरणका कार्यबारे जानकारी गराएका थिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्