Logo

प्रचण्डको ‘सत्ता कब्जा’ को रणनीतिलाई ओलीले असफल बनाएकै हुन् ?



काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्नमा त्रुटी भएको स्वीकार गरिसकेका छन् । उनले ओलीको बोलीमा आफू फस्दै गएको घुमाउरो तरिकाले बताएका छन् । आखिर प्रचण्ड कहाँ चुके ? यो समिक्षा उनी निकटस्थले समेत गर्दै आएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताका लागि प्रचण्ड स्वयंले प्रस्ताव ओलीलाई गरेको खुलासा गरिसकेका छन् । प्रचण्ड त्यतिबेला संसदमा तेस्रो ठूलो दलका नेता थिए । चुनाव नजिकिदै गर्दा प्रचण्डलाई नराम्रो हार व्यहोरिने डरले सताएको थियो । त्यसैले पनि उनले तत्कालिन एमालेसँग समिकरण बनाएर चुनाव लड्ने रणनीति बनाए ।

स्थानीय चुनावमा काँग्रेससँग कतिपय स्थानमा तालमेल गर्दा पनि प्रचण्डले अपेक्षाकृत नतिजा नपाएपछि एमालेसँगै समिकरण बनाए । उक्त घटनापछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डसँग निकै चिढिए । जसको परिणाम प्रचण्डले अहिलेसम्म देउवाको असहयोगबाट भोगिरहेका छन् ।

प्रचण्डले नेकपा एमालेसँग पार्टी एकताका लागि राजनीतिक लेनदेन गरे । जसमध्ये ओली र उनी स्वयं अध्यक्ष बन्ने, आलोपालो प्रधानमन्त्री बन्ने र एकताको महाधिवेशन गर्ने सम्म थियो । प्रचण्डले यसका लागि माओवादी केन्द्र बिघटन गरे । उनको एकता प्रस्तावले एमाले पनि बिघटन भयो । नेकपा एमाले बन्यो ।

साँढे दुई वर्षपछि आफू प्रधानमन्त्री र नेकपाको पार्टी अध्यक्ष दुवै बन्नेमा प्रचण्ड ढुक्क थिए । राजनीति त्यही मोडतर्फ सिधा बढ्ने उनको विश्वास थियो । दुई वर्ष नेकपाको राजनीति ओली र प्रचण्डबीच मेलमिलापमै गयो । छवटा प्रदेशहरुमा मुख्यमन्त्रीहरु भागवण्डा गर्दा ओलीले चार र प्रचण्डले दुईजना आफू निकटस्थलाई बनाए । प्रदेशमा मन्त्रीहरुको भागवण्डा पनि यही प्रकारले भयो ।

ओली सरकारमा मन्त्रीहरु बनाउँदा पनि भागवण्डा गरे । यतिसम्मकी कतिपय राजनीतिक नियुक्तिमा पनि भागवण्डा गरेर मिलाए । ओली र प्रचण्डबीच ट्युनिङ मिलेको थियो । नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको केही चलेन । उनीहरु ओली र प्रचण्डको सहमतिबाट चलेको नेकपाको राजनीतिमा खेलाडी पनि दर्शकमै सिमित भए । सचिवालय, स्थायी कमिटी देखि केन्द्रीय कमिटीसम्म ६० र ४० को भागवण्डा भयो ।

प्रचण्डलाई जनताको बहुदलीय जनवाद मान्न वाध्य पार्ने गरी ओली सक्रिय भए । तर, त्यसलाई प्रचण्डले मानेनन् । अर्कोतर्फ, आलोपालो अध्यक्षता गर्नेमा प्रचण्डले अहिलेलाई ओलीले गर्ने र पछि आफूले गर्ने गरी सहमति गरे ।

प्रचण्डले प्रधानमन्त्री र नेकपाको कार्यकारी अध्यक्ष बनेर नेकपा कब्जा जमाउने रणनीतिक पाइला चालेका थिए । तर, आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा ओलीले असहमति जनाउन थाले । प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएर सहमतिबाट पछि हट्न लगाए ।

ओलीको चतुर चाल प्रचण्डले सबै बुझ्न सकेनन् । प्रधानमन्त्री र नेकपाको कार्यकारी अध्यक्ष बनेर दुई तिहाईको सरकारबाट संविधान नै संशोधन गर्न सक्छु भन्ने प्रचण्डको आशा थिया. । उनले विगत देखि जोड दिदै आएको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने रणनीति अन्र्तगत सबै कदम चालेका थिए । सत्तामा पुग्दा उपेन्द्र यादवलाई पनि लाने र दुई तिहाई मतद्वारा संविधान नै संशोधन गर्ने उनको रणनीति थियो । ती सबै रणनीतिलाई ओलीले तत्कालका लागि असफल बनाइदिएका छन् ।

ओलीले आफूलाई सत्ताबाट हटाउन अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महाभियोग लगाउन खोजेको सार्वजनिक रुपमै भनिसकेका छन् । प्रचण्डको यो कदमलाई असफल बनाउनुको पछाडिका धेरै कारणहरुबारे ओली र उनी निकटस्थले खुलासा गरिरहेका छन् । यो संसद बिघटनको कदमको बचाऊका लागि पनि हुनसक्छ । तर, ओली पक्षले प्रचण्डको सत्ता कब्जा गर्ने रणनीतिलाई असफल बनाउन कठोर कदम चालेको जिकिर गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्