Logo

प्रधानमन्त्री ओलीको एक महिनापछि भारत भ्रमण हुनसक्ने, परराष्ट्रमन्त्री माघको शुरुमा जाँदै



काठमाडौं, १८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण माघको अन्तिमतिर हुनसक्ने बुझिएको छ । यसको पहल भइरहेको छ ।

भारतको गणतन्त्र दिवसपूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण गर्दैछन् । उनले माघको पहिलो हप्तामा भारत भ्रमण गर्ने निश्चितप्रायः भइसकेको छ । विश्वस्त स्रोतका अनुसार ज्ञवाली २ माघमा भारत भ्रमणमा जानेछन् । यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका रुपमा लिइएको छ ।

नेपालसँग भारतले संवादको वातावरण विकास गरेपछि दुवैतर्फबाट धमाधम भ्रमणहरु हुन थालेका हुन् । भारतबाट पछिल्ला दुई महिनामा महत्वपूर्ण चार भ्रमण भए । भारतबाट उच्च स्तरको भ्रमण भएपछि नेपालबाट पनि भ्रमणको तयारी भएको हो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भारतले निम्तो पठाउन सक्ने बुझिएको छ ।

नेकपा विभाजनपछिको राजनीतिक अवस्थालाई भारतले गम्भीरतापूर्वक नोट गरेको जनाएको छ । तर, नेपालको घटनाक्रमलाई आन्तरिक मामला पनि भनेको छ । रोचक पक्ष यो छ कि ओली भारतसँग नजिकिदै गएका छन् ।

भारतको गणतन्त्र दिवसपछि ओलीको भ्रमण हुने सम्भावना छ । यसको पहल अगाडि बढिसकेको बुझिएको छ ।

बालुवाटारमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले दुई महिना अघि प्रधानमन्त्रीलाई भेटेका थिए । त्यसपछि भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला हुँदै भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएर गए ।



प्रतिक्रिया दिनुहोस्