Logo

प्रचण्डमाथि बाह्य शक्ति निम्त्याएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप



काठमाडौं, १८ पौष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि बाह्य शक्तिको चलखेल बढाएको आरोप लगाएका छन् । उनले चलखेलका लागि बाह्य शक्तिलाई निम्त्याउनेहरुको खेलको पर्दा खुल्दै जाने समेत बताए ।

आज पाल्पाको तानसेनमा नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डको नामै लिएर बाह्य शक्तिलाई चलखेलका लागि निम्त्याएको आरोप लगाए । उनले भने, पुष्पकमल दाहालको अन्तवार्ता हेरिरहँदा उहाँले अमूक देश किन मौन बसेको ? एउटा देश चुप लागेर बस्न मिल्छ ? भन्नुभयो । उनले अन्तवार्तामाथि टिप्पणी गर्दै देश र पार्टीभित्रको समस्यामा छलफल गर्न सकिने तर बाह्य शक्ति निम्त्याउनु दुःखद भएको बताए ।

ज्ञवालीले नेपालमा चिनियाँ टोली नेकपाको विवाद मिलाउन आएको घटनातर्फ संकेत गरेका थिए । चिनियाँ टोली नेकपाको पुनः एकताका लागि प्रयास गर्न चार दिवसीय नेपाल भ्रमणमा आएर यसै हप्ता फर्किएको थियो । टोलीले शिर्ष नेताहरुका अलावा नेकपाका शक्तिशाली नेताहरुसँग भेटवार्ता गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्