Logo

सूचना महामार्ग विस्तार आयोजनामा ढिलाइ



काठमाडौं, पुस १९ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) विस्तार गर्ने परियोजना सुस्त बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्र महामार्ग विस्तार गरिसक्ने लक्ष्यका साथ शुरुआत गरेको आयोजनामा १८ महीना अवधिमा २२ प्रतिशत मात्रै प्रगति भएको छ ।

प्राधिकरणले मध्यपहाडी लोकमार्गको ६ हजार ३३१ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउने योजनालाई तीन खण्डमा विभाजन गरेर तीन छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो । तीन खण्डमध्ये एक खण्डमा विस्तारको काम भए पनि दुई खण्डको काम शुरू हुनै सकेको छैन । पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले मङ्सिरसम्ममा २२ दशमलव ५३ प्रतिशत निर्माण सम्पन्न गरेको छ ।

प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन २०७३ असोज १२ गते दुई वर्षको सम्झौता गरेको थियो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले टेलिकमले २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम शुरू गरेको जानकारी दिए । उनका अनुसार पहिलो खण्डअन्तर्गतका तीन प्रदेशमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउने, सामान खरीद गर्नेलगायत काम गर्न पाँच कम्पनीलाई जिम्मा दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन प्रदेशमा ४९१ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरेको छ । सम्झौताअनुसार तीन प्रदेशमा दुई हजार १७९ किलोमिटर फाइबर बिछ्याउनुपर्दछ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्