काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर ५ पौषमा प्रतिनिधिसभा बिघटनको सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेपछि त्यो सदर भयो । ओलीको कदमपछि नेकपा विभाजित भयो । प्रतिनिधिसभा बिघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड र माधवकुमार नेपाल समूह सडक संघर्षमा पुग्यो ।
नेकपाको प्रचण्ड समूहले आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । नेकपामा सूर्य चिन्हको दाबीसहितको पत्र निर्वाचन आयोगमा विचाराधीन छ ।
ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी पनि आन्दोलनमा गएको छ । राजपाले संघर्षको कार्यक्रम घोषणा गरेको छ । तर, उक्त दलभित्र आन्दोलनलाई सशक्त बनाउने या चुनावी तयारीमा जाने भन्नेबारे मतभिन्नता छ । अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा. बाबुराम भट्टराई ओलीको कदमविरुद्ध आन्दोलनमा केन्द्रित हुनुपर्ने जोडबल गरिरहेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर आन्दोलनप्रति रुची देखाइरहेका छैनन् ।
जसपाभित्र पूर्व समाजवादी पक्ष र पूर्व राष्ट्रिय जनता पार्टीबीच ध्रवीकरण भएको छ । उपेन्द्र र बाबुराम एउटा लाइनमा छन् भने महन्थ ठाकुरलगायत अर्को लाइनमा छन् । प्रचण्डको रणनीतिमा उपेन्द्र र बाबुराम चल्न खोजेको भन्दै महन्थ ठाकुर पक्षधरले असन्तुष्टि जनाएका छन् । बाबुरामले चिनियाँ टोलीसँग पनि गत हप्ता भेटेका थिए ।
नेपाली काँग्रेसभित्र आन्दोलनमा जाने कि नजाने भन्नेबारे विवाद सतहमै देखिएको छ । सभापति शेरबहादुर देउवा मध्यावधि चुनावलाई केन्द्रित गरी अगाडि बढ्नुपर्ने पक्षमा छन् । उनी पक्षधर डा. प्रकाशचन्द्र लोहनी, एनपी साउद, डा. नारायण खड्काले चुनावमा केन्द्रित हुनुपर्ने बताइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलनको पक्षमा उभिएका छन् । उनी संसद पुनःस्थापना गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।
काँग्रेसभित्र अहिले ओलीको मध्यावधिको अस्त्रले विवाद बढाइदिएको छ । यसले धाँजा समेत फटाइदिएको छ । जसपाभित्र पनि विवाद बढाइदिएको छ । प्रमुख राजनीतिक दलहरुभित्र ओलीको कदमले ध्रवीकरण भएको छ ।