Logo

ओलीको प्रचण्डमाथि व्यङ्ग्यः मरेकालाई जुम्राले छाडेजस्तो कार्यकर्ताले छाड्छन्



काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकर्ताले छाड्दै जाने बताएका छन् । उनले प्रचण्डमाथि आफू र परिवारका लागि मात्र काम गर्ने गरेको आरोप समेत लगाए ।

‘मरेकालाई जुम्राले छाडेजस्तो कार्यकर्ताले छाड्छन्,’ प्रधानमन्त्री ओलीले आज अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै भने,‘हिजो उहाँले पार्टी नेतृत्व कमजोर पार्ने खेल गर्नुभयो ।’

ओलीले प्रचण्ड र माधवकुमार नेपालले आफूविरुद्ध ३ सय १५ वटा बैठक गरेको बताए । तीमध्ये २८० वटा खुमलटारमा बसेको र ३५ वटा कोटेशवर, प्रेसिडेन्टियल कलेज, अँगेनोलगायतका स्थानमा बसेको सुनाए । उनले भने,‘पार्टी एकता खुइल्याउन ३१५ वटा बैठक बसेकोमा २८० वटा खुमलटारमा बसेको रहेछ ।’

आफूले सबैको पद सुरक्षित गरिदिएको भन्दै फेरि फर्कन आग्रह गरे । उनले भने,‘कार्यकारी भनिदिएको त उपद्रो मच्चाउनुभयो हटाइदिएको छु । अध्यक्ष पद कायमै राखिदिएको छु ।’ नारायणकाजी श्रेष्ठको पनि सचिवालय सदस्य राखिदिएको बताए ।

ओलीले वैशाख १७ र २७ गतेको चुनावलाई कसैले टार्न नसक्ने बताए । उनले भने,‘चुनाव टार्न सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्