काठमाडौं, पुस २० । मुक्तिनाथ विकास बैंक स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । ०६३ साल पुस १९ गते स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरेर १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो ।
संस्था स्थापनाको दिन पारेर क्षेत्रीय तथा शाखा कार्यालयहरूमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सम्पन्न गरिएको जानकारी बैंकले दिएको छ ।
बैंकका अनुसार वार्षिकोत्सव अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँमा डस्बिन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका वडा–१, महानगरीय प्रहरी वृत्त कमलपोखरी अगाडिको सडक पेटी बाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैंचा निर्माणमा बैंकले सहयोग गरेको छ ।
बैंकले कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेसन ९एनएफसी० मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी सरल तरिकाले पीओएस टर्मिनलमा ग्राहकले खरिद गरेका सामग्रीको बिल भुक्तानी गर्न सक्नेछन् । यसैगरी भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकका एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था रहेको बैंकले बताएको छ ।