Logo

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः गुरुयोजना बनाउन सम्झौता



काठमाडौं, पुस २० । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभ) बीच सम्झौता भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) सँग सम्झौता गरेको बताए । यसअघि प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको थियो ।

उनले भने, ‘‘अबको १३ महिनाभित्र सीजी इन्फ्राटा–बीडीए (जेभी) कम्पनीले विमानस्थलको गुरुयोजना तयार गरिसक्नुपर्ने गरी सम्झौता भएको छ । गुरुयोजना निर्माणको लागत २९ करोड ८९ लाख रुपियाँ रहेको छ ।’’ विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्