Logo

खन्न थालिएको सुरुङमा स्थानीयको अवरोध



काठमाडौं, पुस २० । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम थालिएपछि काठमाडौंतर्फका स्थानीयले करिब एक दर्जन माग राखेर आयोजनाको काममा अवरोध गर्न थालेका छन् ।

चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा गएको टोलीले आइतबार ज्ञापन बुझाउँंदै माग सम्बोधन नगरे निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।

‘हाम्रा माग सम्बोधन हुनैपर्छ, आयोजनाले सक्दैन भने त्योभन्दा माथिल्लो निकायबाट भए पनि सम्बोधन गरिनुपर्छ,’ वडाध्यक्ष सुर्खेतीले भने, ‘अहिलेसम्म सामान्य माग मात्र सम्बोधन भए, मुख्य मागको सुनुवाइ भएको छैन, हामीलाई नसुने काम अघि बढ्न दिँदैनौं ।’ आयोजनालाई दुई दिनको समय दिइएको उनको भनाइ छ । दिइएको समयमा पनि माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने उनले बताए ।

उक्त वडामा सुरुङमाथिको ९८ प्रतिशत जमिन पर्छ । स्थानीयले सुरुङमाथि पर्ने जमिनको मुआब्जा दिनुपर्नेलगायत आठबुँदे मागसहितको ज्ञापन बुझाएका हुन् । ‘अहिलेसम्म बाबुबाजेले बनाएका मुहानबाट पानी खाइरहेका छौं,’ उनले भने, ‘तर सुरुङ खनेपछि मुहान सुक्छन् । त्यसैले आयोजनाले आजीवन निःशुल्क खानेपानीको व्यवस्था गरिदिनुपर्छ ।’ आयोजनाबाट आफ्नो वडाका पाँच सय घरधुरी प्रभावित रहेको सुर्खेतीले बताए । कृषिका लागि अहिले भइरहेको सिँचाइ पनि सुक्ने भएकाले यसको वैकल्पिक व्यवस्था गरिदिनुपर्ने माग स्थानीयको छ । उक्त क्षेत्रलाई विशेष प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग पनि उनीहरूको छ ।

‘प्रभावित क्षेत्र घोषणा गरिनुपर्छ, घोषणा गरी सकेपछि सुरुङ निर्माण हुने क्षेत्रमा पर्ने ६ किमि सडक कालोपत्र, खेलकुद मैदान बनाइदिनुपर्छ,’ सुर्खेतीले भने, ‘पहिला वडाले बजेट हालेर खेलमैदान तयार गरेको छ, त्यसको संरचना बनाउनेलगायत काम बाँकी छन्, आयोजनाले त्यो बनाइदिनुपर्छ ।’ क्षमता र अनुभवका आधारमा स्थानीयलाई प्राथमिकतामा राखेर रोजगारी दिनुपर्ने माग पनि स्थानीयको रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्