Logo

नियम मान्दैनन् सरकारी कर्मचारी



काठमाडौं, पुस २० । तोकिएको समयमा कार्यालयमा पुग्नु पर्ने, तोकिएको पोशाक लगाउनुपर्ने, कार्यालयको काममा बाहेक कार्यालय समयभर कार्यालयमै बस्नुपर्ने जस्ता कुरा निजामती कर्मचारीको सामान्य आचारसंहितामा पर्दछन्। तर मुलुकको प्रशासनिक केन्द्र मानिने सिंहदरबारभित्रै कार्यरत कर्मचारी भने आचारसंहिता पालना गर्दैनन्।

सिंहदरबारभित्रकै कर्मचारी अनुशासनीहन भएको गुनासो आउन थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले अहिले सिंहदरबारभित्रका कार्यालयमा नियमितजसो छड्के गर्न थालेको छ। छड्के जाँचका क्रममा निजामती कर्मचारीहरूले अनुशासन उल्लंघन गरेको पाइएको छ। केन्द्रको छड्केपछि कर्मचारीहरूमा अनुशासनहीनता घट्दै गएको संघीय मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। ‘हामीले नै अनुरोध गरेपछि सतर्कताले सिंहदरबारभित्रका कार्यलयमा नियमितजसो छड्के गर्न थालेको छ,’ अर्यालले भने, ‘छड्केपछि अनुशासनहीनता घटेको पाइएको छ।’

प्रशासकीय अदालतका पूर्वसदस्य तथा पूर्व प्रशासनविद् गोविन्द कुसुमले कर्मचारीमा अनुशासनहीन प्रवृत्ति पुरानो रोग रहेको बताउँदै यस्तो प्रवृत्ति हटाउन दण्ड मात्र नभई उनीहरूलाई उत्प्रेरित गर्नुपर्ने बताए। ‘पहिलो कुरा संगठन प्रमुख आफैं उदाहरणीय हुनुपर्‍यो। त्यसपछि त्यसको सिको अरू कर्मचारीहरूले पनि गर्छन्।’ कर्मचारीहरू अनुशासनहीन भए जनताले पाउने सेवामा समेत धक्का लाग्ने उनले बताए। कामचलाउ सरकारको पालामा निजामती कर्मचारी अरु अनुशासनहीन हुने प्रवृत्ति बढेको उनले बताए।

तर आधिकारिक ट्रेड युयिनका महासचिव सुवोध देवकोटाले भने कर्मचारीहरूमा अनुशासनहीन प्रवृत्ति हुँदै नभएको दाबी गरे।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्