Logo

विभाजनपछि नेकपा नेताहरुको ‘छुरा समान बोली’



काठमाडौं, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओली बोलीका कारण चर्चामा आइरहन्छन् । यसले उनलाई बेला बेलामा विवादमा ल्याइरहन्छ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उनले आफूभन्दा भिन्न समूहका नेताहरुविरुद्ध कडा बोली बोलेका छन् । उनले प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई नाम उल्लेख नगरी जिउदै श्रद्धाञ्जली दिए ।

ओलीको बोली भन्दा कडा बोली प्रचण्डको मुखबाट निस्कियो । उनले ओलीलाई गोपन साँप जस्तो भने । ओलीले संविधानमाथि बलात्कार गरेको आरोप लगाए ।
‘क्यामोफ्ल्यास गरेर मौका पाए डसौंला भनेर बस्नुभएको रहेछ,’ प्रचण्डले ओलीलाई साँपसँग तुलना गर्दै १० पौषको पत्रकार सम्मेलनमा भनेका थिए,‘ओली नक्कली रुप बुझ्ने त्रुटी भयो । लुकेर डस्ने काम भयो ।’ उक्त पत्रकार सम्मेलनमा अर्का नेता माधव नेपालले पनि ओलीलाई साँप जस्तै खतरनाक भने । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई सिधै गोपन साँपसँग तुलना गरे । उनले गोपन साँपको जस्तै रिस राखेर डस्ने गरेको आरोप लगाए । ‘ओलीजी गोपन साँप जस्तो हो,’ नेकपा प्रचण्ड समूहको पत्रकार सम्मेलनमा खनालले भने,‘गोमन साँपले आफूलाई चलाउनेको फोटो आँखामा राखेर बदला लिन्छ, उहाँमा त्यही प्रवृत्ति छ ।’

ओलीले गत शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका थिए । उनले झरेका दुईवटा फलले रुखै मेरो हो भन्न नमिल्ने भन्दै व्यङ्ग्य गरे । ‘भेट्नु कुहिएर झरेका दुईवटा फलले रुखै मेरो हो भनेर दाबी गर्ने ?’ ओलीले शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।

नेकपाभित्र ओलीको व्यङ्ग्य जति कडा छ उत्तिनै आक्रामक रुपमा प्रचण्ड र माधव नेपालले ओलीको आलोचना गर्न थालेका छन् । आरोप प्रत्यारोपले उचाई नाघेर नेताहरु गालीगलौजमा उत्रिएका छन् । नेकपा नेताहरुको बोली छुरा जस्तै निर्दयी बन्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्