Logo

घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन



गलकोट, पुस २१ । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउछन् । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरु बताउँछन् ।

जिल्लामा सञ्चालित २८ सामुदायिक घरबासमा महिलाको सक्रियता बढी छ । सामाजिक कार्यमा सहभागी नभएका महिलाहरु घरबास सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्न समेत थालेका छन् ।शुरुमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिलाहरु आफ्नो दैनिकीसँगै घरबासमा आएको पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गरेका छन् ।

घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरु घरबास सञ्चालनसँगै आर्थिकरूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक माया श्रीसले जानकारी दिए ।“दुई वर्ष अघिबाट घरबास सञ्चालनमा ल्याए पनि एक वर्ष अघिबाट मात्रै पाहुना आउन थालेका छन्”, श्रीसले भने “शुरुमा निकै अन्योलपूर्ण अवस्था थियो, अहिले हामीमा समेत परिवर्तन ल्याउन थालेको छ, घरबासले आन्तरिक पर्यटक बढाउँदा आयआर्जनका साथै घरबास नजिकै रहेको पर्यटकीय स्थल बेलढुङ्गाको प्रचार प्रसार भएको छ ।” बेलढुङ्गामा आएका पर्यटकहरुले खान बस्नको राम्रो प्रबन्ध खोज्न थालेपछि महिलाहरुको अगुवाइमा घरबास सञ्चालनमा ल्याएको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले बताए ।

जनजातिको बाहुल्य रहेको बागलुङका विभिन्न स्थानमा घरबास फस्टाउँदै गएका छन् । जिल्लाको पहिलो घरबासका रूपमा रहेको पर्यटकीय गाउँ भकुण्डेमा अहिले दुई घरबास छन् । यहाँका महिलाहरुले घरायसी कामबाहेक घरबास सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको घरबासका सञ्चालक अप्सरा थापाले बताए । विसं २०६९ मा खुलेको बागलुङको पहिलो घरबास अथिति सत्कार घरबासले बागलुङमा घरबासको अवधारणा ल्याएको थियो । त्यसपछि घरबास सञ्चालन गर्ने अधिकांश महिलाहरुको जीवनमा उल्लेख्य परिवर्तन आउन थालेको सञ्चालकहरुले नै बताउँदै आएका छन् ।नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्