Logo

कोरोनाका कारण नवीकरण छुटेका फर्मलाई ३ महीना समय



वीरगञ्ज, पुस २२ । सरकारले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण नवीकरण हुन नसकेका प्राइभेट फर्महरूलाई नवीकरणका लागि ३ महीना समय दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गरी यस्तो व्यवस्था मिलाएको हो ।

प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४ मा संशोधनमार्फत बन्दाबन्दीका कारण नवीकरण हुन नसकेका फर्मले सम्बन्धित निकायमा ३ महीनाभित्र आवेदन दिन सक्ने प्रावधान थपिएको छ । यस्तो नवीकरणमा कुनै प्रकारको थप दस्तुर र जरीवाना नलाग्ने पनि मन्त्रालयले सूचनामार्फत स्पष्ट बताएको छ । अन्य कारणले अहिलेसम्म नवीकरण गराउन छुटेका फर्मलाई २०७८ असारसम्म समय दिइएको छ ।

फर्मधनीले मनासिव कारण देखाएर दरखास्त दिएमा तेब्बर दस्तुर र जरीवाना लिएर नवीकरण गरिने हो । दरखास्त परेको ३ दिनभित्र नवीकरण गरिदिनुपर्ने सूचनामा उल्लेख छ । यस्तो नवीकरणमा प्रत्येक वर्षका लागि २० लाख रुपैयाँसम्मको पूँजीमा २ हजार ५ सय रुपैयाँ र २० लाख रुपैयाँभन्दा बढी पूँजी भएको फर्मलाई ५ हजार ५ सय रुपैयाँ जरीवाना तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्