Logo

एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी



एजेन्सी, २२ पौष । एकै दिनमा ५ अर्ब ४० करोड धन थपेपछि चिनियाँ अर्बपति जोङ सानसान विश्वको छैठौं धनी बनेका छन् । अघिल्लो हप्ता एशियाका धनाढ्य मुकेश अम्बानीलाई उछिनेका सानसान बुधबारबाट विश्वको दश धनाढ्यभित्र पर्न सफल भएका छन् ।

फार्बस् म्यागाजिनका अनुसार सानसानले ५ अर्ब ४० करोड डलर अर्थात् ६ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति एकै दिनमा जोडेका हुन् । अब उनको कुल सम्पत्ति ९२ अर्ब १० करोड डलर भएको छ । उनको पानीको बोतल उत्पादन गर्ने नोङफु कम्पनिको शेयर निकै बढेपछि सम्पत्ति दिनानुदिन बढेको हो । कम्पनिको ८४.४ प्रतिशत शेयर सानसानको छ ।

उनको बेइजिङ वानटाई बायोलोजिकर फारमेसी इन्टरप्राइजेजले कोरोना भाइरसको टेष्ट गर्ने किट उत्पादन गर्छ । यसले उनको धन निकै बढायो । अप्रिल २०२० मा सांघाई स्टक एक्सचेन्जमा कम्पनि सार्वजनिक भएयता २५ सय प्रतिशतले शेयर बढेको छ ।

कुल्लीबाट अर्बपति
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै जोङ सानसानले संघर्ष सिकेका थिए । जीवनको संघर्षलाई शक्तिमा बदल्दै लगे । अनुभवलाई सँगाल्नु र सदुपयोग गर्नु सफलताको सूत्र हो भन्ने प्रमाणका रुपमा प्रस्तुत भए ।

चीनको सांस्कृतिक क्रान्तिको दौरान भएको अस्थिरताले जोङ सानसानको जीवनलाई संकटमा पुर्यायो । छ कक्षामा पढ्दै गर्दा विद्यालय छाड्नुपर्यो । त्यसपछि उनी निर्माण क्षेत्रमा कुल्लीको काम गर्न थाले । कुल्ली बनेर धेरै ठाउँमा काम गरे ।

सानसान विस्तारै उनी पत्रकारितामा लागे । रिपोर्टर बने । उनले पेय पद्धार्थ पनि बेच्दै हिंडे । पछि च्याऊ खेती हुँदै औषधी उत्पादनको क्षेत्रमा पनि लागे । जीवनको लामो अनुभवले सानसानले आफ्नै कम्पनि खोले । सन् १९९६ मा उनले नोन्ग्फु स्प्रिङ चलाए । जसले पानीको बोतल उत्पादन गर्दछ ।



प्रतिक्रिया दिनुहोस्