काठमाडौँ, २२ पुस: मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्रीप्रसाद पहाडी समाजसेवा पुरस्कार–२०७६’ पूर्वप्रमुख निर्वाचन आयुक्त एवं पूर्वप्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ ।
समाजले आज त्यहाँआयोजना गरेको कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई रु एक लाख १० हजार पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गरेका हुन् । सोही कार्यक्रममा आठवटा सामाजिक संस्थाले पनि पोखरेललाई सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहँदा होस् वा निजी जीवन निर्वाहका क्रममा बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिँडाउने भूमिकामा केन्द्रित रहेको बताए । आफूजस्ता कैयाँै युवाको उत्प्रेरकका रुपमा पहाडीले काम काम गरेको उनले सुनाए ।
“हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाको क्षयीकरण तथा तेजोवध हुनु मुलुकको अवन्नतिको कारण हो, अहिले अन्तर्राष्ट्रियस्तरमा नेपालको शाख गिरेको छ”, उनले भने। समाजका संस्थापक सभापति पहाडीले देशमा शान्ति खलबलिन दिन नहुनेमा जोड दिए । समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, सदस्य लक्ष्मी राना, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि नागरिक संस्था सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा पुरस्कृत पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले कल्याणकारी काममा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट रु दुई लाख २० हजार नगद सहयोग हस्तान्तरण गरे । पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
विसं २०१० जेठ २ गते खोटाङको ऐँसेलुखर्कमा जन्मिनुभएका पोखरेलले विसं २०६४ चैत २८ गते जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी तीन दशकभन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्वसमेत उनले बहन गरेका थिए ।
सन् २००८ मा बङ्गलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०-११ मा दक्षिण सुडानको जनमत सङ्ग्रह प्रक्रियामा संयुक्त राष्ट्रसङ्घका महासचिवले पोखरेललाई दुई पटक उच्चस्तरीय समूहमा नियुक्त गरेका थिए । युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वर्ड केनेडी स्कूलको म्यासन फेलो पोखरेल सन् २०१५ मा म्यान्मारमा सम्पन्न संसदीय निर्वाचनमा उहाँ कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सहअध्यक्ष हुनुहुन्थ्यो । हाल उनी कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समूहको सदस्य छन् ।
समाजद्वारा समाजसेवा-सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष रु एक लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट प्राप्त रु १० लाखको अक्षयकोष स्थापना गरिएको छ ।
पहाडीको जन्म विसं १९९२ चैत १ गते तत्कालीन पूर्व ६ नम्बर मादी विर्ता सिरिसे हालको सङ्खुवासभामा भएको थियो । पिता पदमप्रसाद दाहाल र आमा कृष्णकुमारी दाहालको सुपुत्र पहाडीले जीवनको आधा दशक प्रशासन क्षेत्रमा योगदान गरेका थिए । आधा शताब्दीदेखि उहाँ समाजसेवामा सक्रिय छन् । साठी वर्ष अगाडि केही समय मादी हाइस्कूलको अवैतनिक शिक्षकका रुपमा समेत सेवा गर्नुभएका पहाडीले विराटनगरस्थित विभिन्न शैक्षिक प्रतिष्ठानको व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यका रुपमा समेत योगदान गरेका छन् ।
पहाडीका बर्दियामा भूमिसुधार नामक पुस्तक र दर्जनौँ लेख रचना प्रकाशित भएका छन् । विभिन्न सामाजिक सङ्घ संस्थामा सक्रिय रहेका पहाडीले नेपालको सबै जिल्लाको भ्रमण गरेको जनाइएको छ ।-रासस