काठमाडौं, २३ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला भारतमा छन् । उनी पत्नी सीता दाहालको उपचारका लागि दुई छोरी रेणु र गंगालाई समेत लिएर भारत गएपनि धेरैले यसमा राजनीतिक उद्देश्य समेत लुकेको आशंका गरेका छन् ।
प्रचण्ड भारतमै रहँदै गर्दा विवेकानन्द फाउण्डेशनको वेवसाइटमा जेएनयूकी प्राध्यापक संगिता थपलियालले एउटा लेखमार्फत् वर्तमान अवस्थामा भारतले नेपालको कुनैपनि राजनीतिक खेलाडीको पक्ष लिननहुने सुझाव दिएकी छिन् । उनले भारतलाई तटस्थ भुमिका निभाउन सुझाएकी छिन् । भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल संस्थापक निर्देशक रहेको विवेकानन्द फाउण्डेशनको वेवसाइटमा यो लेख प्रकाशित हुनु र प्राध्यापक थपलियाले नेपाल मामलाकी जानकार हुनुले पनि यसले निकै अर्थ राख्छ ।
भारतमा रहँदा प्रचण्डले केही महत्वपूर्ण भेटवार्ता गरेको अपुष्ट खबर आएको छ । उनले भारतको संस्थापन पक्षका केही व्यक्तिहरुसँग भेटघाट गरेको बुझिएको छ ।
प्रचण्डले भारतमा रहँदा क कस्लाई भेटे भन्नेबारे बालुवारले निकै चासो राखिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पूर्वमन्त्री गोकुल बाँस्कोटाले भारतमा रहँदा प्रचण्डले राजनीतिक भेटहरु गरेको आशंका गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रचण्डले देशविरुद्ध तानाबाना बुन्ने काम गरेर फर्किएमा राजनीतिक शक्तिसंघर्षले कष्टकर बाटो समाउने चेतावनी समेत दिएका छन् । यो प्रचण्डको भारत भ्रमणप्रति बालुवाटारको आशंकाको संकेत पनि हो ।
अहिले नेकपाभित्र विदेशी चासो र प्रभाव छिपेको छैन । चिनियाँ पक्षले नेकपा मिलाउने र विवाद समाधान गर्ने प्रयास गर्दै आएको छ । चिनियाँ टोली नै नेपाल आएर खुल्ला र भित्री रुपमा सक्रिय रह्यो । नेकपा विभाजनसँगै चीन र भारतको साथ खोज्ने कसरत पनि भएको छ । यसमा ओली र प्रचण्ड दुवै समूह सक्रिय भइरहेको छ ।
प्रचण्डको भारत भ्रमण नितान्त पत्नीको स्वास्थ्योपचारमा सिमित नहुने उनको लामो भारत बसाईंले पनि देखाइरहेको छ । यही बेलामा भारतले कस्को पक्ष लिने या नलिने विषयमा बहस चल्न थालेको छ । प्राध्यापक थपलियालले नेकपाको राजनीतिक किचलोमा कसैको पक्ष लिन नहुने सुझाव दिएकी छिन् । पूर्व विदेशसचिव श्यामशरणले केही दिन अघि लेखमार्फत् ओलीलाई साथ दिन नहुने भन्दै घुमाउरो तरिकाले प्रचण्डलाई नै साथ दिनुपर्ने भनेका छन् ।
भारतले भने प्रचण्डलाई तत्काल साथ दिइहाल्ने देखिदैन । नेपालको पछिल्लो घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले नोटमा राखेको भनेको छ । तर, आन्तरिक मामला भन्दै भूमिका नदेखाइरहेको सन्देश दिन खोजेको छ । नेपालको राजनीतिमा प्रभाव राख्ने भएकाले भारत यो घटनाबाट त्यति धेरै संलग्न भइरहेको छैन । तर, उसले तत्काल ओलीविरुद्ध गतिविधि देखाइरहेको छैन । प्रचण्डलाई पनि साथ दिने संकेत गरेको छैन ।