काठमाडौं, २६ पौष । शुक्रबार राति टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इञ्जिनियर दम्पत्ति हत्याको घटना रहस्यमय बनेको छ । घटनाको जानकारी पाएका आफन्तले घन्टौंपछि मात्र प्रहरीलाई खबर गरेपछि घटना रहस्यमय बनेको छ ।
सुर्खेत घर भई ग्रिन भिल्लामा बस्दै आएका उमेश केसी र उनकी पत्नी सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उमेशको मृत्यु बिहिबार नै भएको हुनसक्ने देखिएको छ । तर, घटनाको जानकारी प्रहरीले शुक्रबार राति अबेर थाहापाएको थियो । मृतक सदिक्षाकी दिदीले बहिनी झुण्डिएको शुक्रबार दिउँसो नै देखेको र खबर ढिलो गरेको प्रहरीले जनाएको छ ।
मृतककी दिदी बहिनी सम्पर्कमा नआएपछि भिल्लामा पुगेकी थिइन् । उनी विहान ९ बजेको आसपासमा घटनास्थल पुगेकी थिइन् । तर, घटना देखेपछि उनले माइती खलकलाई खबर गरेकी थिइन् । ग्रिनल्याण्ड चोकमा दिदीचाहिंको घर छ ।
प्रहरीले पोष्टमार्टम रिपोर्टमा केन्द्रित गरी अनुसन्धान बढाएको छ । घटनामा पत्नीले पतिको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने या दम्पत्तिको अन्य कसैले हत्या गरेको हुनसक्ने कोणबाट अनुसन्धान बढाएको छ । घटनास्थलको सूक्ष्म अनुसन्धान भएको समेत प्रहरीले जनाएको छ ।
६ वर्ष अघि उमेर र सदीक्षाबीच प्रेम विवाह भएको थियो । उमेशको परिवारले यो विवाहलाई रुचाएको थिएन । उमेश ससुराली खलकसँग बढी नजिकिएका थिए । उनी विवाह गरी अमेरिका गएका थिए । पति अमेरिका र पत्नी नेपालमै बसेपछि विवाद बढ्दै गएको थियो । यसपटकको दशैंमा उमेश आएका थिए । सदिक्षा पनि उनीसँगै जान चाहेकी थिइन् । यसले दुवैबीच विवाद बढेको थियो ।
केही दिनमै अमेरिका फर्कने योजनामा रहेका उमेशले सदिक्षासँग आर्थिक विषयमा पनि जानकारी मागेका थिए । आफूले पठाएको पैसाबारे सोधेका थिए । यसले पनि विवाद भएको प्रहरी स्रोतले जनाएको छ । तर, घटनामा अन्य पात्रहरुको पनि संलग्नता हुनसक्ने उत्तिकै सम्भावना रहेको आशंका गरिएको छ ।
घटनास्थलमा उमेश रगतले लत्पित्तिएको अवस्थामा बेडरुममा मृत भेटिएका थिए । उनलाई सिलौटा प्रहार गरिएको देखिएको छ । सदिक्षा भने झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।