Logo

निजी फर्म नवीकरणका लागि चैत २० सम्मको समय थप



काठमाडौं, पुस २७। सरकारले कोभिड–१९ का कारण दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी २० गतेसम्मको समयावधि थप गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म रजिस्ट्रेशन (तेह्रौं संशोधन) नियमावली २०७७ मा संशोधन गर्दै गतवर्ष चैतदेखि नवीकरण हुन छुटेका फर्महरू दर्ताका लागि समयावधि थप गरेको हो ।

गतवर्ष चैत ११ देखि कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी बन्दाबन्दी गरिएकाले फर्म नवीकरण गर्न नपाएको भन्दै निजीक्षेत्रले सरकारसँग समय थपको माग गरेको थियो । मन्त्रालयले नियमावली संशोधन गरी नवीकरण छुटेका फर्महरूलाई विना कुनै विलम्ब शुल्क तथा जरीवाना नवीकरण गर्न दिने निर्णय गरेको हो । यसका लागि मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशनसमेत दिइसकेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

सरकारले ३४ वर्षदेखि नवीकरण छुटेका निजी फर्महरू नवीकरण दर्ताका लागि बाटो खोलेको छ । सरकारले २०४२ सालयता नवीकरण छुटेका निजी फर्महरूका लागि कारण देखाई नवीकरणका लागि आवेदन गर्ने बाटो खोलेको हो । निश्चित जरीवाना तिराएर त्यस्ता फर्महरू नवीकरणका लागि बाटो खोलिएको मन्त्रालयले निर्देशिकामार्फत जनाएको छ ।

२०४२ मा विभागमा ५ लाख निजी फर्म दर्ता भएका थिए । तीमध्ये आधाभन्दा कम फर्महरूले मात्रै नवीकरण गरेको विभागका प्रवक्ता सेढाईंले बताए ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्