Logo

उदयपुर सिमेन्टको उत्पादन क्षमता बढाइँदै



काठमाडौं, पुस २७ । उपभोक्ताको उच्च रोजाइमा परेर पनि उचित लाभ लिनबाट चुकेको उदयपुर सिमेन्ट उद्योगलाई नाफामा लैजान उत्पादन क्षमता नै बढाउने तयारी गरिएको छ । हालसम्म ४ अर्बभन्दा बढी घाटामा गएको उद्योगको हाल हुँदै आएको उत्पादन क्षमतालाई बढाएर दैनिक ८०० सय टन पु¥याउने लक्ष्य उद्योगले लिएको हो । अहिले सो उद्योगबाट औसतमा दैनिक ३५० टन सिमेन्ट उत्पादन हुँदै आएको छ ।

मंगलवारदेखि कार्यभार सम्हाल्ने गरी नियुक्ति भएका नवनियुक्त महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले ३० वर्ष पुरानो प्mयाक्ट्रीलाई नयाँ प्रविधिसहित स्तरोन्नति गर्नु, घाटामा गएको उद्योगलाई नाफामा लैजान, कोइला तथा जिप्सम आयातलाई नियमित गर्नेलगायत समस्या चुनौतीका रूपमा रहेको बताउँछन् । यद्यपि यो घाटालाई न्यूनीकरण गर्न उत्पादन क्षमता वृद्धि गर्दै अन्य समस्या पनि समाधान गर्न रणनीति तयार गरिने उनको भनाइ छ ।

उच्च माग र ठूलो उद्योगका रूपमा स्थापित उद्योगले हाल भने निजीक्षेत्रका उद्योगहरूको उत्पादनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले तत्कालीन, मध्य र दीर्घकालीन रणनीति तयार गर्ने उनको भनाइ छ । ‘अहिले हामीसँग रहेको चुनढुंगा खानीको स्टकले दैनिक ८०० टन सिमेन्ट उत्पादन गरे पनि ३०० वर्षलाई पुग्ने देखिन्छ,’ न्यौपानेले भने, ‘यही स्रोतको उच्चतम प्रयोग गरी गुणस्तरीय उत्पादन र निजीक्षेत्रसँग प्रतिस्पर्धा गरी उपभोक्तासम्म मागअनुसार आपूर्ति गर्ने लक्ष्य छ ।’

पुरानो कारखाना, उद्योगमा कार्यरत कर्मचारीका समस्या र अन्य कच्चापदार्थको आपूर्तिमा अवरोध नहोस् भनी काम गरिने तयारी भएकाले विस्तारै अहिलेको घाटालाई न्यूनीकरण गर्न सक्षम हुने विश्वास उनको छ । ६ महीनाभित्र गर्ने कामका लागि तत्कालीन योजना बनाउने र त्यसपछि २ वर्षसम्मका लागि दीर्घकालीन योजना बनाई काम अघि बनाइने भएको छ ।

केही दिन अघिको मन्त्रिपरिषद्को निर्णय अनुसार सो उद्योगमा नियुक्ति पाएका उनलाई २ वर्षसम्म काम गरेको हेर्ने र उद्योगलाई नाफामा लैजान र राम्रो गर्न सके ४ वर्षसम्मको कार्यकाल नै दिने सरकारको तयारी छ । गैंडाछाप ब्रान्डबाट बजारमा विक्री हुँदै आएको उदयपुर सिमेन्टको मूल्यलाई प्रतिस्पर्धी बनाउँदै लैजाने पनि उद्योगको तयारी छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्