Logo

प्रविधिको प्रयोगले सेवा प्रभावकारी



काठमाडौं, पुस २७। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको छ ।

स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तार हुँदै गएपछि सूचना प्रविधिमैत्री बन्दै गएको स्थानीय तहमा सेवा प्रवाहलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग पुगेको छ । सूचना र प्रविधिको क्षेत्रमा बढ्दै गएको पहँुचसँगै स्थानीय तहको सेवामा प्रभावकारिता र सेवाग्राहीलाई सहज भएको सूचना प्रविधि विभागले जनाएको छ ।

विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएपछि स्थानीय तहको सरकारी तथ्याङ्क सुरक्षित भएको बताए । उनका अनुसार सूचना र प्रविधिको क्षेत्रमा अध्ययन तथा अनुसन्धान भएको, सूचना प्रविधि उद्योगको प्रवद्र्धन तथा विकास गरी स्थानीय तहमा रोजगारीको सिर्जना भएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले सबै स्थानीय तह अहिले सूचना प्रविधिमैत्री बन्दै गएको चर्चा गर्दै सेवाग्राहीलाई सेवा सर्वसुलभ र सहज पार्न मोबाइल एप र वेबसाइट लगायतका प्रविधिले सहयोग पुगेको धारणा व्यक्त गरे ।

मोबाइल एप्स ६८८ स्थानीय तहमा
स्थानीय तहलाई सूचना र प्रविधिमैत्री बनाउन विभागले सबै स्थानीय तहको एउटै मोबाइल एप्स निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । विभागका अनुसार अहिलेसम्म ६८८ स्थानीय तहमा मोबाइल एप्स निर्माण भइसकेको छ । यो सङ्ख्या कुल ७५३ स्थानीय तहको ९१ प्रतिशतभन्दा बढी हो ।

मोबाइल एप्स प्रयोग गर्ने स्थानीय तह प्रदेश १ मा १३४, प्रदेश २ मा ८२, बागमतीमा ११८, गण्डकीमा ८३, लुम्बिनीमा १०६, कर्णालीमा ७९ र सुदूरपश्चिममा ८६ छन् । बाँकी ६५ स्थानीय तहमा पनि मोबाइल एप्स बनाउने क्रम अन्तिम चरणमा पुगेको छ ।

मोबाइल एप्सबाट स्थानीय तहले प्रदान गर्ने सेवा, कार्यक्रम तथा परियोजनाको अवस्था, ऐन, नियम, वडासम्बन्धी जानकारी, स्थानीय तहभित्रका महत्वपूर्ण स्थान, आपत्कालीन सम्पर्क नम्बर लगायतका सूचना सजिलै प्राप्त गर्न सकिन्छ ।

यी एप्सबाट कुनै पनि व्यक्तिले कुनै पनि ठाउँ र समयमा सुझाव तथा गुनासा पेस गर्न, सेवा प्रवाह र विकास निर्माण लगायतबारे जनधारणा, जनमत व्यक्त गर्न तथा दोहोरो संवाद गर्नसमेत सक्छन् । विद्युतीय भुक्तानी गर्नसमेत गर्न सकिने यी एप्सलाई सम्बन्धित स्थानीय तहको वेबसाइटसँग आबद्ध गरिएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्