Logo

एयर ट्रान्सपोर्ट बबल स्किमले भारतीय पर्यटकको आगमन वृद्धि



काठमाडौं, पुस २८ । नेपाल र भारतबीच ९ महीनापछि नियमित हवाई उडान शुरू हुने गरी भएको एयर ट्रान्सपोर्ट बबल स्किमका कारण नेपालमा बिस्तारै भारतीय पर्यटकको आगमनमा बृद्धि भएको छ ।

भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा गत पुस ५ गते नेपाल भारतबीच सहमति भएको थियो । त्यसअनुसार उडान शुरू भएपछि भारतीय पर्यटकको आगमन वृद्धि भएको हो ।

कोरोना महामारीका कारण नेपाल र भारतबीच २०७६ चैत ११ गतेबाट हवाई उडान बन्द थियो । भारतले गत कात्तिकमा नै विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी नेपालसमक्ष ‘एयर ट्रान्सपोट बबल स्किम’ को प्रस्ताव गरे पनि नेपालले अस्वीकार गरेको थियो ।

सरकारले कोरोना संक्रमणका कारण बन्द गरेको अन्तरराष्ट्रिय उडान करीब ५ महीनापछि गत भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो भने असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको थियो ।

अन्तरराष्ट्रिय उडानहरू क्रमशः थपिँदै गए पनि भारतमा भने उडान शुरू भएको थिएन । एयर बबल स्किमअन्तर्गत हाल दुवै देशले एक एक वायुसेवा कम्पनीमार्फत काठमाडौं–दिल्ली उडान गर्ने निर्णय भएसँगै नयाँ वर्ष मनाउन थुप्रै भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

हवाई मार्ग सामान्य रूपमा खुला भए पनि नेपाल भारत सीमा नाका भने बन्द रहँदा नेपाल आउन चाहने हजारौं पर्यटक नेपाल आउन पाएका छैनन् । त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्दै सीमाक्षेत्र पनि खुला गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उनले सीमा नाका बन्द हुँदा लुम्बिनी आउन चाहने भारतीय पर्यटक आउन नपाएको समेत बताए ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्