Logo

ओलीको ‘चुनावी लाइन’ मा देउवा, महन्थ र कमल थापा



काठमाडौं, २८ पौष । प्रधानमन्त्री केपी शर्मा ओली चुनावी गतिविधिमा सक्रिय भइसकेका छन् । उनले धनगढी पुगेर आमसभालाई सम्बोधन समेत गरे । चुनाव वैशाखमै हुने ठोकुवा गरे ।

प्रतिनिधिसभा बिघटनको कदम चालेर ओलीले चुनावको कुरा गरेपनि प्रचण्ड, माधवकुमार नेपालका अलावा रामचन्द्र पौडेल, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले नहुने ठोकुवा गरेका छन् । उनीहरु संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् ।

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्षधर चुनावको तयारीमा जानुपर्ने भन्दै सक्रिय भएका छन् । स्वयं देउवाले चुनाव काँग्रेसका लागि उपयुक्त भनेका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने चुनाव गर्नका लागि घोषणा नगरेको तर्क गरेका छन् । उनले घोषणा गरेको चुनाव नहुने ठोकुवा गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि चुनावमा जानुपर्ने पक्षमा छन् । उनले हिजोमात्र चुनावबाटै समस्याको समाधान हुने बोले । ठाकुरको दलभित्रका उपेन्द्र यादव र बाबुराम भट्टराई भने संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि चुनावमा जानुपर्ने पक्षमा छन् । उनले पृथ्वी जयन्तीमा गोरखामा पुगेर ओलीको बर्हिगमनका लागि पनि चुनाव अनिवार्य भएको तर्क गरे । उनले चुनावबाट ताजा जनादेशमा जानुपर्नेमा जोड दिदै आएका छन् ।

यसरी ओलीको चुनावी अस्त्रलाई तिखार्नमा शेरबहादुर देउवा, महन्थ ठाकुर देखि कमल थापासमेत लागेका छन् । अहिले उनीहरु ओलीतर्फ देखिएका छन् । प्रतिनिधिसभा बिघटनको विरोध गरेपनि उनीहरुले चुनावमा जाने कुरा गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

देउवा नेकपा फुटेकाले भारी बहुमत ल्याउन सक्ने आशामा उत्साही छन् । पार्टीभित्र महाधिवेशन सारेर फाइदा लिन सकिने उनको बुझाई देखिन्छ । महन्थ ठाकुर पनि नेकपाको विभाजनबाट फाइदा लिन सकिने आशामा छन् । कमल थापा पनि राप्रपा एक भएको र कम्युनिस्टहरु विभाजित भएकाले फाइदा लिन सकिने आशामा छन् । त्यसैले ओली, देउवा, ठाकुर र थापा एकातर्फ देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्