Logo

चुनावी अस्त्रले काँग्रेस र राजपाभित्र फाटो (को कता)



काठमाडौं, २८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई बिघटन गराएर फ्याँकेको चुनावी अस्त्रले उनको दल नेपाल कम्युनिस्ट पार्टी विभाजन गराएको छ । निर्वाचन आयोगले नेकपा विभाजनबारे निर्णय दिन मात्र बाँकी छ ।

प्रतिनिधिसभा बिघटनपछि नेकपा विभाजन भई संसद पुनःस्थापना र चुनाव गरी दुई धार स्पष्ट देखिएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् । ओली कुनै हालतमा चुनाव गराइछाड्ने अडानका साथ बढेका छन् । ओलीको चुनावी अस्त्रले अन्य दलहरुमा समेत कम्पन आएको छ ।

नेपाली काँग्रेसभित्र संसद पुनःस्थापना र चुनावमा जाने गरी दुई धार स्पष्ट देखिएको छ । सभापति शेरबहादुर देउवा चुनावी तयारीमा लागिहाल्नुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल चुनाव गर्नका लागि नभई रणनीतिक रुपमा घोषणा भएको भन्दै संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् । देउवासँगै उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु नारायण खड्का, एनपी साउदले चुनावको पक्षमा मुख फोरेका छन् । पौडेल निकट नेताहरुले पनि संसद पुनःस्थापनाको पक्ष लिएका छन् ।

काँग्रेसभित्र देउवा र पौडेलको अलग लाइनले फाटो बढाउँदै लगेको छ । संसद पुनःस्थापना भएमा या नभएमा दुवै अवस्थामा यो फाटोले गम्भीर अवस्था ल्याउने देखिदैछ । ओलीको कदमले काँग्रेसमा समेत भविष्यमा ठुलै हलचल ल्याउने अनुमानहरु लगाउन थालिएको छ ।

जनता समाजवादी पार्टीमा पनि संसद पुनःस्थापना कि चुनाव भन्ने विषयले विवाद बढाएको छ । नेताहरुको फरक धारणा बाहिर आइरहेको छ । यसले जसपामा फाटो ल्याएको छ । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतले चुनावमा जोड दिइरहेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई संसद पुनःस्थापनाको पक्षमा बोलिरहेका छन् । उनीहरुले गणतन्त्र, संघीयता नै सिध्याउन खोजिएको भन्दै गल्ती सच्याएर जानुपर्ने तर्क गर्दै आएका छन् । दुई फरक धारणाले जसपामा पनि विवाद प्रष्ट देखिएको छ ।

ओलीले संसद बिघटन गरी चुनाव घोषणा गरेसँगै राजनीतिक ध्रवीकरण प्रष्ट देखिएको छ । पार्टीहरुभित्रै त्यस्तो ध्रुवीकरण देखिएको छ । यसले नेकपा फुटको गम्भीर असर अन्य दलमा पनि देखिनथालेको छ । परिवर्तनकारी राजनीतिक शक्तिहरुभित्र विभाजनले नयाँ परिस्थिति विकास हुनथालेको छ ।

चुनाव पक्षधर

केपी शर्मा ओली
शेरबहादुर देउवा
महन्थ ठाकुर र राजेन्द्र महतो
कमल थापा

संसद पुनःस्थापनाका पक्षधर

पुष्पकमल दाहाल प्रचण्ड
माधवकुमार नेपाल
झलनाथ खनाल
रामचन्द्र पौडेल
उपेन्द्र यादव
डा. बाबुराम भट्टराई



प्रतिक्रिया दिनुहोस्