Logo

प्रचण्डले ओलीमाथि भारतको इशारामा संसद विघटन गरेको आरोपको खबर टाइम्स अफ इन्डियामा



काठमाडौं, १ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा नेकपा विभाजन र प्रतिनिधिसभा बिघटन गराएको आरोपको खबर टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ । प्रचण्डले ओलीमाथि सिधै भारतको इशारामा चलिरहेको आरोप खबरमा उल्लेख छ ।

टाइम्स अफ इन्डियाले रअ प्रमुख सामन्तकुमार गोयलसँग ओलीले बालुवाटारमा एक्लै भेटेकोमा प्रचण्डले प्रश्न उठाएको विषय पनि उल्लेख गरेको छ । प्रचण्डले ओलीको नियतमाथि प्रश्न उठाएको भनिएको छ ।

यसअघि बुधबार नेकपाको आफ्नो समूहको काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीमाथि भारतको इशारामा चलेको आरोप लगाएका थिए । ‘उहाँले अहिले पार्टी विभाजत गर्ने, संसद भंग गर्ने भारतले भनेर गरेको सारा जनताले बुझेका छन्,’ प्रचण्डले भेलामा भनेका थिए, ‘केपीजी यसलाई के भन्नुहुन्छ ?’ उनले भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले बालुवाटारमा गरेको भेटघाटमाथि पनि प्रश्न उठाए । गुप्तचरसँग तीन घन्टा बालुवाटारभित्र एक्लै कुरा गरेर अपारदर्शी तरिका अपनाएको बताए ।

असारताका ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको छ भनेको स्मरण गराउँदै प्रचण्डले त्यतिबेला भारतले भनेकै भरमा हटाउनु हुँदैन भनेर नहटाएको बताएका थिए । उनले भनेका थिए, ‘असारको हाम्रो स्थायी समिटिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले नि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । त्यतिबेला भारतले भन्दा हटाउने हो र भनेर हामीले हटाएनौं ।’



प्रतिक्रिया दिनुहोस्