Logo

एशियाली पर्यटक ल्याउने रणनीतिमा होटेल व्यवसायी



काठमाडौं, माघ ४ । कोरोना भाइरसले सृजित समस्याका कारण सबैभन्दा बढी प्रभावित मुलुकको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन होटेल व्यवसायीहरू लागिपरेका छन् ।

आन्तरिक पर्यटनमा केही सुधार देखिए पनि बाह्य पर्यटक आगमन नहुँदा सुस्ताएको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन उनीहरूले एशियाली देशका पर्यटकलाई नेपाल ल्याउन विशेष प्याकेज तथा मार्केटिङ रणनीति बनाउन थालेका हुन् ।

अध्यागमन विभागका अनुसार कोरोना भाइरसको प्रभावकै बीच भारत, चीन, थाइल्यान्ड र म्यान्माबाट आउने पर्यटकको संख्या धेरै छ । सन् २०२० मा अत्यन्त न्यून २ लाख ३० हजार पर्यटक मात्र नेपाल आएका छन् । सन् २०१९ मा नेपाल आउने पर्यटकको संख्या भने ११ लाख ९७ हजार थियो ।

होटेल व्यवसाय सञ्चालन गर्नैपर्ने भएकाले व्यवसायीहरू छुट्टै रणनीति बनाएर मार्केटिङ गर्ने तयारीमा रहेको होटेल एशोसिएशन नेपाल (हान) का महासचिव साजन शाक्यले बताए । यूरोप तथा अमेरिकालगायत देशबाट अहिले पर्यटक आइहाल्ने अवस्था नभएपछि चीन, भारत, श्रीलंका, सिङ्गापुर, भियतनाम, थाइल्यान्डलगायत देशबाट पर्यटक ल्याउन आवश्यक तयारी गरिएको शाक्यको भनाइ छ ।

नेपाल आउने बौद्ध पर्यटक पनि धेरै भएकाले त्यस्ता देशमा मार्केटिङ तथा केही छूटका प्याकेजहरू ल्याउने तयारी गरिएको उनले बताए । अहिले होटेलको अवस्था दयनीय रहेको छ । होटेलहरू खुले पनि पर्यटक नआएकाले काठमाडौंका होटेलहरूको अकुपेन्सी दर नै उल्लेख्य रूपमा खस्किएको छ । होटेल खोले पनि खर्च व्यवस्थापन गर्न होटेल सञ्चालकलाई निकै धौधौ भएको शाक्य बताउँछन् ।

अन्य पर्यटकीय स्थानहरूमा आन्तरिक पर्यटकले व्यवसायलाई उत्साह दिए पनि पर्याप्त भने नभएको होटेल व्यवसायीको भनाइ छ । शून्य प्रायः रहेको समग्र हस्पिटालिटी व्यवसायलाई सकारात्मक प्रभाव पारे पनि काठमाडौंका होटेल व्यवसायमा भने सकारात्मक अवस्था नदेखिएको उनीहरूको गुनसो रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्