Logo

बजेट दुरूपयोगः ५६ लाख महँगोमा ठेक्का



दैलेख, माघ ४ । मुलुक संघीयतामा गइसकेपछि कैयौं स्थानीय तहले राम्रा काम गरेका छन्। राम्रो नियत राखेर काम गर्ने स्थानीय तहमा धमाधम पूर्वाधार निर्माणका काम भइरहेका छन्।

केही स्थानीय तहले भने विद्यमान नियम, कानुनको धज्जी उडाउँदै विकास खर्च जथाभावी गरिरहेको पाइएको छ। यसरी जथाभावी विकास बजेट दुरूपयोग गर्नेमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका जोडिन पुगेको छ।

उक्त नगरपालिकाले जथाभावी खर्च गरिरहेको विकास बजेट दुरूपयोग हुनबाट रोक्न स्थानीयबासीले उठाएको आवाजलाई बेवास्ता गरेपछि सर्वसाधारण राजधानीमा रहेका सञ्चार माध्यमका कार्यालय धाउन थालेका छन्।

नगरपालिकाले कर्णाली विन्द्रासैनी लिफ्टिङ वाटर सप्लाई आयोजनाको नाममा आह्वान गरेको बोलपत्रमा कम कबोल गर्नेलाई सोही काम नदिएपछि नगरपालिकाविरुद्ध गुनासो बढेको छ ।

उक्त नगरपालिकाले कर्णाली विन्द्रासैनी लिफ्टिङ वाटर सप्लाई आयोजनामा करिब ५६ लाख रूपैयाँ बढी कबोल गर्नेलाई ठेक्का सम्झौताको प्रक्रिया अघि बढाएपछि विरोध भएको हो। सार्वजनिक खरिद ऐनमा बोलपत्रमा प्रतिस्पर्धा गरेकामध्ये सबभन्दा न्यून रकममा काम गर्ने कम्पनीलाई काम दिनुपर्ने उल्लेख छ। तर नगरपालिकाले बढी कबोल गरेका ठेकेदारलाई उक्त आयोजनाको काम दिने गरी आशयपत्र जारी गरेको छ।

सो आयोजनाको काम गर्न सातवटा कम्पनीले टेन्डर हालेका थिए। कूल बजेट एक करोड ४२ लाख ५० हजार रूपैयाँको क्रमागत उक्त आयोजनामा सबभन्दा कम मस्त जेबिडी एन्ड इन्जनियरिङले ८५ लाख ७२ हजार रूपैयाँ कबोल गरेको थियो। नगरपालिकाले भने एक करोड ४१ लख ८० हजार रूपैयाँ कबोल गर्ने सफल निर्माण सेवालाई आयोजना निर्माणको काम दिने गरी आशयपत्र सार्वजनिक गरेको छ। सफलबाहेक अन्य चारवटा ठेकेदार कम्पनीले एक करोड ४१ लाख ८० हजार रूपैयाँभन्दा कम कबोल गरेका छन्।

एउटा ठेकेदार कम्पनी नन्जिला एन्ड आकांक्षा कन्सट्रक्सनले मात्र सबभन्दा बढी एक करोड ४३ लाख ५५ हजार रूपैयाँ बिडिङ गरेको छ। उक्त आयोजना निर्माणका लागि एक करोड ६ लाख रूपैयाँ प्रस्ताव पेस गरेको बताउने नवीकरणीय ऊर्जा प्रालिका प्रबन्ध निर्देशक नविनकुमार शाहीले मिलेमतो र सेटिङ गरी बढी कबोल गर्ने ठेकेदारलाई नगरपालिकाले ठेक्का दिन खोजेको दाबी गरे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्