काठमाडौं, ४ माघ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस आज पनि सुरु भएको छ । शुक्रबार सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइको परमादेश जारी गरेको थियो । अब संवैधानिक इजलासमा सुनुवाई भई अन्तिम किनारा यसैले लगाउने भएको छ ।
आज इजलासमा निवेदकहरुले बहस शुरु गरेका छन् । इजलासमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् ।
५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर संसद बिघटनको राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गराएपछि १३ वटा रिट दायर भएको थियो । ८ पौषमा एकल इजलासले संवैधानिक इजलासमा पेश गर्न आदेश भएको थियो । १० पौषमा संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ पेस गर्न आदेश जारी गरेकोमा भइसकेको छ । २२ पौषबाट निरन्तर सुनुवाई हुने आदेश जारी गरेको थियो । न्यायाधीश हरिकृष्ण कार्कीमाथि इजलासमा बसेकोमा प्रश्न उठेपछि उनले छाडेका थिए । त्यसपछि सपना मल्ल प्रधानलाई ल्याइएको थियो ।
२२ पौषमा नेकपा नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत रिट निवेदक १२ जनाले संयुक्त रुपमा यसअघि प्रतिनिधिसभा बिघटनविरुद्ध दिएको रिटको सुनुवाई वृहत पूर्ण इजलासबाट होस् भनी निवेदन दिएका थिए । यसउपर २ माघमा सर्वोच्चले उत्प्रेषण परमादेश गर्दै पूर्ण इजलासमा गर्नुनपर्ने फैसला सुनाएको थियो । संवैधानिक इजलासमा अब निरन्तर बहस चल्नेछ ।