काठमाडौं, ४ माघ । टोखास्थित ग्रिनभिल्ला हाउजिङमा २४ पौषमा मृत भेटिएका दम्पत्तिमध्ये सुदीक्षा गिरीको पेटमा दुई महिनाको भ्रूण पत्ता लाग्यो । पोष्टमार्टमका क्रममा पत्ता लागेको भ्रूण नै घटनाको मुख्य कारण हो भन्ने निष्कर्षमा प्रहरी पुग्यो ।
प्रहरीको विश्वस्त स्रोतका अनुसार सुदीक्षाको गर्भलाई लिएर पति उमेश केसीले प्रश्न उठाएका थिए । त्यसले उनीहरुबीच विवाद गराएको थियो । उमेशले १७ पौषमा ग्रान्डी अस्पताल पुगेर स्वास्थ्य परीक्षण समेत गराएका थिए । उनले मूत्रसम्बन्धी चेकजाँच गराएका थिए । उनले आफ्नो प्रजनन क्षमताबारे जाँच गराएको बुझिएको छ ।
अमेरिकामा बस्दै आएका उमेश दशैं अघि नेपाल आएका थिए । विवाहको ६ वर्ष बितिसक्दा पनि दुवैबाट बच्चाको जायजन्म भएको थिएन । पति अमेरिकाबाट फर्किएलगत्तै गर्भवती भएको पत्ता लाग्नु र त्यसमाथि उमेशले प्रश्न गर्नुले विवाद भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
विवादका क्रममा सुदिक्षाले सिलौटा प्रहार गरेको र त्यसको १० देखि १२ घन्टापछि आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टलाई आधार बनाई प्रहरीले निष्कर्ष निकालेको छ । २४ पौषमा घटनाको जानकारी भएपनि मृतक उमेश केसीको हत्या २३ पौषको राति नै भएको पोष्टमार्टमले देखाएको प्रहरीले जनाएको छ । घटनामा पीडित र पीडक दुवैको मृत्यु भएको छ ।
६ वर्ष अघि उमेर र सदीक्षाबीच प्रेम विवाह भएको थियो । उमेशको परिवारले यो विवाहलाई रुचाएको थिएन । उमेश ससुराली खलकसँग बढी नजिक थिए । उनी विवाह गरी अमेरिका गएका थिए । पति अमेरिका र पत्नी नेपालमै बसेकाले पनि समस्या आएको अनुसन्धानले देखाएको छ ।
माघ १ गते अमेरिका फर्कने योजनासहित उमेश टोखामा सुदिक्षासँग बस्दै थिए । तर, उनको फर्कने योजना पूरा भएन । प्रहरीका अनुसार उमेशको हत्या गरी सुदिक्षाले आत्महत्या गरेकी थिइन् ।