Logo

निर्वाचन तयारीमा सघाउन दलहरूलाई आग्रह



काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा सघाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेको छ। आयोगले आइतबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने ११ वटा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचनका लागि माघ १५ गतेदेखि हुने मतदाता नामावली अद्यावधिक गर्न र मतदान केन्द्र स्थल, केन्द्र निर्धारणमा सहयोग गर्न आग्रह गरेको हो।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले निर्वाचन घोषणा गरेपछि तयारी गर्नु आयोगको संवैधानिक दायित्व भएको बताए। प्रमुख आयुक्त थपलियाले भने, ‘माघ १५ देखि ७ सय ५३ वटै स्थानीय तहका केन्द्रबाट मतदाता नामावली अद्यावधिक हुने भएकाले चुस्त दुरुस्त रूपमा अद्यावधिक कार्य सम्पन्न गर्न, मतदान केन्द्र र स्थल निर्धारणमा राजनीतिक दलका तर्फबाट सक्रिय सहभागिता एवं प्रभावकारी भूमिका निर्वाह गरिदिनुहुन अनुरोध छ।’

छलफलमा फुटको सँघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका प्रतिनिधि सहभागी थिए। नेकपा केपी शर्मा ओली पक्षबाट बाबुराम दाहाल र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल सहभागी थिए। छलफलमा दाहाल–नेपाल पक्षका नेता पाण्डेले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला चुनावी तयारी थाल्दा मुद्दा प्रभावित हुने भएकाले तयारी रोक्न यसअघि नै आफूहरूले आयोगमा निवेदन दिएको स्मरण गराए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्