Logo

पाइप लाइनबाट चोरी असम्भव: निगम



काठमाडौं, माघ ५ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको भारतीय खण्डमा गतसाता डिजेल चोरीको प्रयास भयो । पाइप लाइनबाट चोरीको सम्भावना शून्य रहेको नेपाल आयल निगमले जनाएको छ ।

आधुनिक पाइप लाइन भएकाले चोरी तथा चुहावटका प्रयास तुरुन्त जानकारीमा आइहाल्ने निगमले जनाएको छ ।निगमका अनुसार पाइप लाइनमा अप्टिकल फाइबर राखिएको र त्यसको सहायताले पाइप लाइनमा पु¥याएको असर पत्ता लगाउन सकिन्छ । त्यसका साथै पाइप लाइन ‘स्काडा र पीएलसी प्रोग्रामले कन्ट्रोल’ गरिएको हुँदा कसैले पाइप लाइनमा असर पु¥याए तुरुन्त जानकारीमा आउने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

उनले भने, “मोतिहारी–अमलेखगञ्ज पाइप लाइन आधुनिक हो, यसमा सामान्य तरिकाले चोरी गर्छु भनेर सम्भव छैन प्रविधिले तत्काल थाहा पाइहालिन्छ । पाइप फुट्यो भने पनि प्रेसर कम भइहाल्छ अनि कहीँ गडबढी छ भन्ने कुरा त थाहा भइहाल्छ । ” उनका अनुसार अस्ति भारतमा भएको चोरीको प्रयास पनि तुरुन्त जानकारीमा आएको थियो ।

पाँच दिनअघि भारतको विहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँनजिक पाइप लाइनको डिजल चोरीको प्रयास भएको थियो । तत्काल जानकारी प्राप्त भएकाले कुनै क्षति हुन नपाएको दाबी निगमको छ । इन्डियन आयल कर्पोरेसनको मोतिहारी कार्यालयले कुनै पनि क्षति नभएको जानकारी निगमलाई गराएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्