Logo

विद्युत प्राधिकरण तनहुँका कर्मचारी आलेमाथि अख्तियारको मुद्दा



काठमाडौं, ५ माघ । नेपाल विद्युत प्राधिकरण तनहुँ आँबु प्रशाखामा कार्यरत कर्मचारी कृष्ण आलेमाथि अख्तियारले मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारका टोलीले रकमसहित आलेलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको अतिरिक्त रकम ५ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको थियो ।

आलेमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्