काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकेर राष्ट्र र जनतामाथि रिस पोखेको गुनासो पोखेका छन् । आज (सोमबार) गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमलाई सहयोग गर्नेभन्दा रोक्ने अदालत आवश्यक परेको पनि बताए। उनले संविधानअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्न नसक्दाको रिसले प्रतिनिधि सभा विघटन गर्नुभयो। यो राष्ट्र र जनतामाथि उहाँले रिस पोख्नुभयो । प्रधानमन्त्री ओलीको कदम सच्याउन कांग्रेस एक्लै आफ्नै संगठनलाई लिएर आन्दोलनमा जान्छ ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम