Logo

नागरिक उड्डयन प्राधिकरण आर्थिक संकटमा : कर्मचारीलाई तलब खुवाउन समस्या



माघ ५, काठमाण्डौ । कोरोना भाइरस संक्रमणका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा आएको गिरावटसंगै कर्मचारीको तलब खुवाउन नसक्ने अबस्थामा पुगेको छ । कोरोना भाइरससंगै नेपालको आन्तरिक वायुसेवाले हालसम्म १७ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम गुमाउन पुगेको छ । आन्तरिक उडानका १० हेलिकोप्टर र ९ वटा नियमित उडानका वायुसेवा कम्पनीले कोभिडका कारण उडान गर्न नपाउँदा र यात्रु नभएका कारण जहाजको उडान गर्न नपाउदा घाटा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबक्ता राजकुमार क्षेत्रीले बताएका छन् ।

कोभिड–१९ को प्रभावले नेपाली वायुसेवाहरूमा नेपाल वायुसेवा निगमले मात्र ५ अर्ब रुपैयाँभन्दाबढी रकम गुमाएको छ । अन्य वायुसेवामा आन्तरिक उडानका १० हेलिकोप्टर र अरु ९ वायुसेवाले कम्पनीहरूले १० अर्ब ६२ करोड रुपैयाँभन्दाबढी रकम गुमाएको प्रधाधिकरणको तथ्याङकमा उल्लेख छ । हिमालय एअरलाइन्सले २ अर्ब रुपैयाँभन्दा बढी रकमको आम्दानी गुमाएको छ । प्राधिकरणका अनुसार मार्च–नोभेम्बर २०२० सम्मको तथ्यांकमा मात्रै उक्त उडान घाटा भएको जनाएको छ । वायुसेवाको उडान कम भएको, पूर्ण क्षमतामा नउडेका र अन्तर्राष्ट्रिय उडानमा यात्रु अभाव भएको हुँदा यो घाटा अझै बढ्ने अनुमान गरिएको छ । वायुसेवाले आम्दानी गुमाएकै कारण नियामक निकाय उड्डयन प्राधिकरणले सन् २०२० मा ८० प्रतिशतले आम्दानी घटेको छ ।

कोरोना महामारीका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई यात्रु ७२ प्रतिशसम्मले घटेका छन् । सन् २०१९ मा नेपाली आकास प्रयोग गर्ने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु ४१ लाख ३८ हजार ४८२ रहेको थियो । यो संख्या सन् २०२० को नोभेम्बरसम्ममा १० लाख ३९ हजार ३२२ मात्रै रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । आन्तरिक उडानका सन् २०१९ मा ३१ लाख ८८ हजार ४७९ यात्रु रहेकोमा सन् २०२० को नोभेम्बरसम्ममा १० लाख ३० हजार २९६ मात्रै रहेको छ । आन्तरिक उडानमा ६४ प्रतिशतले यात्रु घटेको छ । महामारीका कारण यात्रामा प्रतिबन्ध लागेकाले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान ८६ प्रतिशत र आन्तरिक उडानमा ७३ प्रतिशतले घटेको प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट हाल अन्तर्राष्ट्रिय उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रबाट हिमालय एअरलाइन्सको मात्रै नियमित उडान छ । श्री एअरलाइन्सले यात्रु चार्टरको अनुमति पाएको र महमारीका कारण यात्रु सेवामा यसको योगदान निकै न्यून रहन गएको छ । अन्तर्राष्ट्रिय उडानमा बुद्ध एअरको पनि उपस्थिति रहेको भएपनि महामारीपछि यसको अन्तर्राष्ट्रिय उडान ठप्प रहेको छ । बुद्धले काठमाडौंबाट भारतको पौराणिक शहर वनारसमा नियमित उडान गर्दै आएको थियो ।

आन्तरिक उडानमा नेपाल वायुसेवा निगम, बुद्ध, यती, तारा, सिम्रिक, समिट, श्री, सिता र सौर्य एअरलाइन्सले उडान गर्छन् । हेलिकोप्टरमा मनाङ, श्री, फिस्टेल, कैलाश, अल्टिच्युड, हेलि एभरेष्ट, माउन्टेन र प्रभु हेलिकोप्टरले उडान गर्छन् । आन्तरिक वायुसेवाले विस्तारै आफ्नो लय समाउन खोजेको देखिएपनि सो लयमा जान अझै कठिन रहेको तत्कालिन अबस्थाले देखाएको छ । सबै आन्तरिक वायुसेवाले आन्तरिक उडानका यात्रुलाई दृष्टिगत गरेर प्याकेज ल्याउने र सञ्चालन खर्च धान्नेको लागि भएपनि उडान गरिरहेको पाइएको छ ।

हेलिकोप्टरको अघिकांश उडान उद्धार र पर्यटकीय दृश्यावलोकनमा मात्र सिमित भएको छ । पर्यटक नआएका कारण अधिकांश हेलिकोप्टरले काम पाएका छैनन । पर्यटक नभएको र व्यापार करीब ठप्प नै रहेकाले हेलिकप्टर समेत थन्काएर राख्नुपर्दा घाटा चुलिँदै गइरहेको वायुसेवा सञ्चालन संघको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्