काठमाडौं, माघ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् । दिनहुँजस्तो दुवै पक्षले आफूनिकट नेता तथा कार्यकर्ताको भेला गर्दै नेकपाको आधिकारिक पक्ष आफैं भएको जिकिर गर्दै आएका छन् ।
पुस ७ गतेपछि दुवै समूहले आफूनिकट नेता–कार्यकर्ता जम्मा पारेर गरेका बैठक, भेला, आमसभा र विभिन्न कार्यक्रममा नेकपाको संस्थापन आफूहरू नै भएको दाबी गर्दै आएका छन् । केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्ष, महासचिव र माइन्युट आफूसँग भएको र पूर्वएमालेतर्फ रहेका कार्यकर्ताको ठूलो पंक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्ष आफूहरू भएको दाबी गरेका छन् ।
नेपाल–दाहाल समूहले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा सबै कमिटीमा आफूहरूको बहुमत रहेको भन्दै आफूहरू नै संस्थापन पक्ष भएको दाबी गरेका छन् । यो क्रम एक महिनादेखि नै चलिरहेको छ । ओलीले ‘असली बाजेको पेडा पसल’को संज्ञा दिएर आफू संस्थापन भइरहेको बताउँदा नेपाल–दाहाल समूहले पनि त्यसको खण्डन गर्दै असली आफूहरू नै भएको दाबी गर्दै आएका छन् । नागरिक दैनिकबाट