Logo

गुम्यो उड्डयन क्षेत्रको ३७० अर्ब डलर



दोलखा, माघ ७ । कोभिड—१९ का कारण सन् २०२० को अन्त्यसम्म विश्वभरको उड्डयन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकन डलरभन्दा बढीको क्षति व्यहोर्नु पर्‍यो। यस्तै उक्त अवधिमा विमानस्थलले १ सय १५ अर्ब डलर र हवाई कम्पनीहरूले १३ अर्ब डलरबराबरको क्षति व्यहोरेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले जनाएको छ।

सन् २०२० को हवाई क्षेत्रको विभिन्न पाटो अध्ययन गरी आईकाओले निष्कर्षसहित यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले सन् २०२० मा विश्वभरको हवाई यात्रुको संख्यामा पनि करिब ६० प्रतिशतभन्दा बढीले कमी आएको औंल्याएको छ। प्रतिवेदनअनुसार जहाजको कुल क्षमताको ५० प्रतिशतको हाराहारीमा मात्रै उडान हुँदा अन्तर्राष्ट्रिय उडानमा यात्रुको संख्यामा ६० प्रतिशतले घटेको हो। प्रतिवेदनको तथ्यांकअनुसार सन् २०२० मा १.८ अर्ब यात्रुले मात्रै जहाजबाट यात्रा गरेका थिए।

तर अघिल्लो वर्ष सन् २०१९ को अवधिमा भने ४.५ अर्बको संख्यामा यात्रुहरूले अन्तर्राष्ट्रिय क्षेत्रको यात्रा गरेका थिए। तथ्यांकअनुसार एसिया प्रशान्त भेगका उड्डयन क्षेत्रले पनि पछिल्लो वर्षमा १ सय २० अर्ब डलरबराबरको क्षति व्यहोर्न बाध्य भयो।

यो क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गतिविधि अत्यधिक हुने भएकाले उड्डयन क्षेत्रले ठूलो परिमाणमा आम्दानी गुमाउनु परेको हो। उक्त क्षेत्रमा कुल उडान क्षमताको ४५ प्रतिशतको संख्यामा मात्रै यात्रुहरूले जहाजबाट यात्रा गरेका थिए। तर मे महिनादेखि एसिया प्रशान्त मुलुकहरूका उड्डयन क्षेत्रले तुलनात्मक रूपमा गति लिन थालेको आइकाओले जनाएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्