Logo

कमलपोखरी पूर्वाधार निर्माणको पर्खाइमा



दाङ, ७ माघ । कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गरेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमलपोखरी अहिले उचित संरक्षणको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण पोखरीको संरक्षण नहुँदा अस्तित्व नै सङ्कटमा पर्न लागेको छ ।

पोखरीको संरक्षणका लागि आफूहरुले पटकपटक स्थानीय सरकारलार्ई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । “तुलसीपुर उपमहानरपालिका वडा नं ६ वडा कार्यालयले पोखरीको संरक्षणका लागि दुई वर्ष पहिले गुरुयोजना बनाएको भनी सुनेका थियौ, अहिलेसम्म कुनै निर्माणको काम भएको छैन”, स्थानीयवासी पुष्पा चौधरीले गुनासो गरिन् ।

विगतमा पोखरी क्षेत्रमा घुम्नका लागि तुलसीपुर बजारसहित टाढाटाढाबाट पनि मानिस आउँथे । पोखरीमा कमलको फूल फुल्थ्यो । कमल हेर्न र टिप्नका लागि गाउँगाउँबाट मानिस आउँथे । पोखरीको संरक्षण तथा पूर्वाधार कमजोर रहेकाले यसलाई पर्यटकीय रुपमा विकास गर्नुपर्ने सुझाव दिएर फर्कन्थे । “अहिले ताल सबै पुरिन लागिसक्यो, मानिसहरु पनि घुम्न आउँदैन्”, स्थानीयवासी ज्ञानसिंह चौधरीले भने ।

तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा रजौरा गाउँबाट करीब ५०० मिटर पश्चिममा पर्ने सो पोखरी करीब एक बिघा क्षेत्रफलमा रहे पनि अहिले साँघुरो हुनाका साथै धेरै भाग पुरिँदै गएको तथा जलकुम्भी झारले समेत ढाकेको छ । पहिले साढे पाँच फिट गहिरो रहेको पोखरी अहिले एक फिट जति मात्र गहिरो हुनाका साथै पानी पनि सुक्न थालेको छ ।
भmण्डै ९० वर्ष पहिले निर्मित कमलपोखरीको संरक्षण स्थानीयवासीले गर्दै आएका छन् । बजेट अभावका कारण पोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न भने तिनले सकेका छैनन् ।

पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका तुलसीपुर–६ रजौरा निवासी ७५ वर्षीय गोविन्दप्रसाद रजौरेले पोखरीको उचित संरक्षण गरी पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताए। उनी भन्छन् “तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीँ छैन, यसको संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ”, उनी थप्छन्, “यति पुरानो पोखरीको गाउँलेले संरक्षण गरेर राखेका थियाँै तर सरकारी निकायबाट खासै पहल गरिएको छैन । अब त अस्तित्व नै मेटिन्छ कि भन्ने चिन्ता बढेको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्